छिमेक लघुवित्तको नाफा ६.२%ले बढ्यो
काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड (CBBL)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा र व्यवसाय विस्तारमा सकारात्मक वृद्धि देखाएको छ। संस्थाले चैत मसान्तसम्ममा ९० करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ८५ करोड ३५ लाख रुपैयाँ रहेको थियो। यससँगै लघुवित्तको खुद नाफा ६.२ प्रतिशतले बढेको हो।
संस्थाको मुख्य आम्दानी स्रोत मानिने खुद ब्याज आम्दानी २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। ब्याज खर्चमा वृद्धि भए पनि संस्थाले सञ्चालन आम्दानीलाई सन्तुलित राख्दै मुनाफा स्थिर बनाएको जनाएको छ। समीक्षा अवधिमा कर तथा अन्य व्यवस्था अघिको सञ्चालन मुनाफा १ अर्ब २६ करोड रुपैयाँ पुगेको छ भने वितरणयोग्य मुनाफा १ अर्ब ९५ करोड ८१ लाख रुपैयाँ कायम भएको छ।
व्यवसाय विस्तारतर्फ पनि लघुवित्तले उल्लेखनीय वृद्धि गरेको देखिएको छ। ग्राहकहरूमा प्रवाहित कुल कर्जा तथा सापटी ४४ अर्ब १० करोड रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको अन्त्यसम्म ३९ अर्ब २८ करोड रुपैयाँ थियो। त्यस्तै सदस्यहरूबाट संकलित निक्षेप ४४ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ।
संस्थाको कुल सम्पत्तिको आकार समेत विस्तार हुँदै ५७ अर्ब १७ करोड रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख गरिएको छ। लघुवित्तले कर्जा विस्तारसँगै सञ्चालन क्षमता र आम्दानी दुवैमा सुधार कायम राखेको देखिएको छ।


