निर्धन उत्थान लघुवित्तको नाफामा उच्च गिरावट
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको नाफामा उच्च कमी आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तको नाफामा ६७.७५ प्रतिशतको गिरावट आएको हो ।
गत आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा ४८ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १५ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ ।
लघुवित्तको लगभग सबै मुख्य सूचकहरू नकारात्मक देखिएका छन्। सबैभन्दा डरलाग्दो पक्ष भनेको खराब कर्जामा भएको वृद्धि हो ।
संस्थाको खराब कर्जा ८.०९ प्रतिशतबाट बढेर १३.९९ प्रतिशत पुगेको छ। लघुवित्त क्षेत्रमा यसलाई अत्यन्तै जोखिमपूर्ण मानिन्छ । ऋणीहरूले समयमा किस्ता तिर्न नसक्दा लघुवित्तको असुली प्रक्रिया सुस्त देखिएको हो ।
खराब कर्जा बढेसँगै सम्भावित जोखिमवापतको व्यवस्थाका लागि लघुवित्तले ५३ करोड ८० लाख रुपैयाँ छुट्याउनु परेको छ। यसले गर्दा सञ्चालन मुनाफामा असर परेको हो।
आर्थिक सुस्तता र ऋणीहरूको घट्दो तिर्ने क्षमताका कारण लघुवित्तको ब्याज आम्दानी र अन्य सञ्चालन खर्चहरूबीचको सन्तुलन बिग्रिएको हो ।
लघुवित्तमा देखिएको यो समस्याले लगानी कर्ता समेत सचेत हुनुपर्ने देखिन्छ ।


