दक्षिण एसियाली सार्वजनिक नीति तथा सुशासन सम्मेलन सम्पन्न
काठमाडौँ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (NASC) को आयोजनामा “Resilience and Renewal: Re-envisioning Governance through Youth Engagement, Digital Transformation, and Cultural Narratives in South Asia” शीर्षकमा छैठौ दक्षिण एसियाली सार्वजनिक नीति तथा सुशासन सम्मेलन २०८२ चैत २६–२७ (९–१० अप्रिल २०२६) मा सफलतापूर्वक सम्पन्न भएको छ।
सम्मेलनमा नेपालसहित दक्षिण एसियाका विभिन्न देशका नीति निर्माता, प्रशासक, अनुसन्धानकर्ता तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा शासन सुधार, डिजिटल रूपान्तरण, युवा सहभागिता, जलवायु परिवर्तन तथा सार्वजनिक प्रशासनका समसामयिक विषयमा विचार–विमर्श तथा शोधपत्र प्रस्तुति गरिएको थियो। कार्यक्रममा उद्घाटन सत्र, मुख्य वक्तव्य, दुई वटा प्यानल छलफल तथा विभिन्न उप–विषयगत प्राविधिक सत्रहरू सञ्चालन गरिएको थियो, जसले क्षेत्रीय स्तरमा ज्ञान आदान–प्रदान तथा नीतिगत बहसलाई सुदृढ बनाएको छ।
नेपाल जनप्रशासन संघ (PAAN) को समेत सह–आयोजनामा सम्पन्न उक्त सम्मेलनले दक्षिण एसियामा समावेशी, उत्तरदायी तथा प्रविधिमैत्री सुशासन प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याएको विश्वास गरिएको छ। उक्त सम्मेलनमा सह–आयोजको तर्फबाट संघका अध्यक्ष श्री मधुरमण आचार्यले स्वागत मन्तब्य दिनु भएको थियो भने NASC का कार्यकारी निर्देशक श्री रामशरण पुडासैनीले सहभागीलाई धन्यबाद दिदै समापन गर्नु भएको थियो l
६औँ दक्षिण एसियाली सार्वजनिक नीति तथा सुशासन सम्मेलन सफलतापूर्वक सम्पन्न भएको सन्दर्भमा यसमा प्रत्यक्ष तथा परोक्ष रूपमा सहभागी भई ज्ञान, अनुभव र विचार आदान–प्रदानमा योगदान पुर्याउनु हुने सम्पूर्ण सदस्यज्यूहरू तथा सहभागी महानुभावहरूलाई सम्मेलनको सह-आयोजकको हैसियतले नेपाल जनप्रशासन संघ (PAAN) हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
यहाँहरूको सक्रिय सहभागिता र सहयोगले क्षेत्रीय स्तरमा नीति संवाद तथा सुशासन सम्बन्धी बहसलाई अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ। आगामी दिनहरूमा पनि यस्तै सहकार्य र सहभागिताको अपेक्षा राख्दछौं।



