आज मुलुक भर एकैपटक निर्वाचन हुँदै, एक करोड ८९ लाख ३ हजार ६८९ मतदाताले मतदान गर्दै
आज फागुन २१ गते देशैभर प्रतिनिधि सभा सदस्यको निर्वाचन सुरु भएको छ । देशभरका सबै निर्वाचन स्थल तथा केन्द्रबाट निर्वाचन प्रकृया सुरु भएको हो ।
देशभर करिब १० हजारभन्दा बढी मतदान स्थल र २२ हजारभन्दा बढी मतदान केन्द्र कायम गरिएको छ । आज बिहानदेखि मतदान सुरु भएको मतदान प्रकृया साँझसम्म सञ्चालन हुनेछ ।
यस निर्वाचनमा कुल एक करोड ८९ लाख ३ हजार ६८९ योग्य मतदाता रहेका छन्। तीमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला तथा २०० जना अन्य लिङ्गका मतदाता दर्ता रहेका छन् । सम्पूर्ण मतदाताहरुले आफू दर्ता भएको मतदान केन्द्रबाट नै मतदान गर्नुपर्ने हुन्छ ।
यस निर्वाचनमा १६५ चुनाव क्षेत्रहरुबाट ६८ राजनीतिक पार्टी सहभागी भएका छन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमार्फत प्रतिनिधि चयन हुने भएका हुन् ।
प्रत्यक्षतर्फ विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले समेत उम्मेदवारी दिएका छन् । चुनावमा सहभागी भएका प्रत्यक्ष कुल उम्मेदवारहरु ३ हजार ४०६ जना र समानुपातिक तर्फ एक हजार २७० जना उम्मेदवार रहेका छन् । उम्मेदवारमध्ये ३ हजार १७ जना पुरुष, ३८८ जना महिला र एक जना अन्य उम्मेदवार रहेका छन् ।
जसमा नेपाली कांग्रेस पार्टीको तर्फबाट १६५ उम्मेदवारी दिएका छन् भने नेकपा एमाले १६४ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १६३ जना उम्मेदवार रहेका छन् ।
देशभरका मतदान केन्द्रमा आवश्यकताअनुसार सुरक्षाकर्मी खटाइएको छ । प्रत्येक मतदान केन्द्रमा कम्तीमा तीन तहको सुरक्षा प्रबन्ध मिलाइएको आयोगले बताएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी र निर्वाचन प्रहरीहरु खटाईएको छ । यस निर्वाचनको लागि करिव साढे तीन लाख सुरक्षाकर्मी परिचालन गरिएको छ ।




