हिम पर्वत हाइड्रोपावरले मंसिर १८ गतेदेखि आईपीओ निष्काशन गर्ने
काठमाडौँ । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आगामी मंसिर १८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि सेयर जारी गर्न लागेको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आफ्नो जारी पुँजीको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ५९ लाख १५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। सोही स्वीकृतिअनुसार स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूका लागि सेयर बाँडफाँट तथा समायोजन गरी बाँकी रहेको सेयर सर्वसाधारणका लागि खुला गर्न लागिएको हो।
लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्कासन बन्द छिटोमा मंसिर २३ गते हुनेछ भने उक्त अवधिसम्म मागबमोजिम आवेदन नपरेमा निष्कासन अवधि लम्बिनेछ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको अनलाइन प्रणाली ‘मेरो सेयर’ मार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
दोलखा जिल्लामा कुल २५.५ मेगावाट क्षमताका दुईवटा जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको यस कम्पनीअन्तर्गत २० मेगावाटको साँगु खोला जलविद्युत् आयोजना र ५.५ मेगावाटको साँगु खोला–१ जलविद्युत् आयोजना रहेका छन्। कम्पनीका अनुसार साँगु खोला–१ ले २०८२ साउन ८ गतेदेखि र साँगु खोला आयोजनाले २०८२ असोज २५ गतेदेखि व्यावसायिक रूपमा विद्युत् उत्पादन गरिरहेका छन्।



