१८४ अर्ब ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट हो : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहमति भएको १८४ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण तत्काल लिने रकम नभई आयोजना र आवश्यकताअनुसार उपयोग गरिने ‘लाइन अफ क्रेडिट’ भएको स्पष्ट पारेका छन् । ऋणको ब्याजदर, भुक्तानी अवधि र ग्रेस पिरियडसमेत टुंगो लाग्न बाँकी रहेको उनले बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा भारत भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले नेपालले ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ बराबरको लाइन अफ क्रेडिट प्राप्त गरेको जानकारी दिए । उनका अनुसार उक्त ऋण पूर्वाधार र विशेषगरी ऊर्जा क्षेत्रका आयोजना निर्माणमा आवश्यकताअनुसार उपयोग गर्न सकिनेछ ।
नेपालको ऊर्जा क्षेत्रमा ४० हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना र त्यसका लागि आवश्यक लगानीलाई ध्यानमा राखेर लाइन अफ क्रेडिटको व्यवस्था गरिएको उनले बताए । प्रसारण लाइनलगायत ऊर्जा पूर्वाधार निर्माणमा यसको उपयोग प्रभावकारी हुने उनको भनाइ छ ।
यसअघि अमेरिकी डलरमा ऋण लिँदा विनिमय दरमा हुने उतारचढावले नेपालको दायित्व बढ्ने गरेको उल्लेख गर्दै वाग्लेले भारतीय रुपैयाँमै ऋण लिने र भुक्तानी गर्ने विकल्प खुल्नु महत्त्वपूर्ण भएको बताए । तर ऋण कुन ब्याजदरमा लिने, कति वर्षमा भुक्तानी गर्ने र ग्रेस पिरियड कति हुने भन्ने विषयमा भारतसँग प्राविधिक वार्ता हुन बाँकी रहेको उनले स्पष्ट पारे । ऋण डलरमा लिने वा भारतीय रुपैयाँमा लिने भन्ने विकल्पसमेत खुला रहेको उनको भनाइ छ ।
यसअघि सडक निर्माणलगायतका आयोजनामा लाइन अफ क्रेडिट उपयोग गर्दा स्थानीय सामग्री प्रयोग र ठेकेदारसम्बन्धी सर्तका कारण समस्या आएको उनले बताए । ऊर्जा क्षेत्रमा भने यस्तो ऋणको उपयोग प्रभावकारी हुन सक्ने उनको भनाइ छ ।
भैरहवाको दोहोरो हवाई रुटलाई उपलब्धि
अर्थमन्त्री वाग्लेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि भैरहवाको हवाई रुट दुईतर्फी प्रयोग गर्न पाउने सहमतिलाई नेपालको कूटनीतिक प्रयासको महत्त्वपूर्ण उपलब्धि बताएका छन् । नेपालले विगत १०–१२ वर्षदेखि यसका लागि प्रयास गर्दै आएको उल्लेख गर्दै उनले यसअघि एकतर्फी रहेको हवाई रुट अब नेपाल प्रवेशका लागि पनि प्रयोग गर्न सकिने बताए ।
यसले नेपालको नागरिक उड्डयन क्षेत्र सुधार र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा सहयोग पुग्ने सरकारको विश्वास रहेको उनले बताए । आगामी दिनमा महेन्द्रनगर र जनकपुरलगायतका नाकाबाट पनि अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्ने योजना रहेको उनको भनाइ छ ।
भारतले नेपालको १२५ किलोमिटर भूमि किनेको र बागडोगरा विमानस्थलसँग सम्बन्धित विषयमा सञ्चारमाध्यममा आएका समाचार निराधार र भ्रामक रहेको पनि उनले बताए ।
सुनकोशी–सप्तकोशी आयोजना नयाँ होइन
सांसदहरूले सुनकोशी–सप्तकोशी उच्च बाँध आयोजनाबारे उठाएको प्रश्नमा अर्थमन्त्री वाग्लेले यो नयाँ आयोजना नभएको स्पष्ट पारे । उनका अनुसार सन् २००४ देखि नै नेपाल र भारतबीच यस आयोजनाको संयुक्त अध्ययन हुँदै आएको छ ।
आयोजनाको अध्ययन तथा भविष्यमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने कामका लागि विराटनगरमा नेपाल–भारत संयुक्त आयोजना कार्यालय स्थापना गरिएको उनले जानकारी दिए । उक्त कार्यालयलाई आयोजनाको अध्ययन र तयारीसम्बन्धी कामको जिम्मेवारी दिइएको छ ।
भिजन डकुमेन्टका लागि छुट्टै पञ्चवर्षीय योजना नचाहिने
भारतसँग तयार गरिएको ‘विकसित भारत र समुन्नत नेपाल’सम्बन्धी भिजन डकुमेन्टका विषयमा उठेका प्रश्नको जवाफ दिँदै वाग्लेले यसले दुई देशबीचको सहकार्यलाई व्यवस्थित, नियमित र संस्थागत बनाउने बताए ।
भिजन डकुमेन्टमा समेटिएका १० वटा स्तम्भ नै यसको कार्यक्षेत्र र कार्यादेश भएको उल्लेख गर्दै उनले यसका लागि छुट्टै पञ्चवर्षीय योजना वा अर्को दस्तावेज आवश्यक नपर्ने बताए । कनेक्टिभिटी, आर्थिक साझेदारी, शिक्षा, स्वास्थ्य, संस्कृति, खेलकुद र पर्यटनलगायतका क्षेत्रमा सहकार्यलाई दीर्घकालीन दिशानिर्देश दिन दस्तावेज तयार गरिएको उनको भनाइ छ ।
नेपालका कृषि रणनीति, आवधिक योजना, बजेट तथा नीति कार्यक्रम आफ्नै ठाउँमा रहने र भिजन डकुमेन्टले ती विद्यमान नीति तथा योजनालाई विस्थापित नगर्ने उनले स्पष्ट पारे ।
मंगलबारको अर्थ समिति बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल ऐनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि दफावार छलफलसमेत भएको थियो ।



