नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
काठमाडौँ । नेपाल टेलिकमले आज (माघ २२, २०८२) आफ्नो स्थापनाको २२औं वार्षिकोत्सव मनाएको छ। केन्द्रीय कार्यालयसहित विभिन्न प्रादेशिक निर्देशनालय र कार्यालयमा कार्यक्रम आयोजना गरिएको थियो।
केन्द्रीय कार्यालयमा भएको समारोहको अध्यक्षता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिकी अध्यक्ष लक्ष्मी कुमारी बस्नेतले गरेकी थिइन्।
कार्यक्रममा प्रमुख अतिथि गृह मन्त्री ओम प्रकाश अर्यालले कम्पनीले डिजिटल डिभाइड न्यूनीकरण र ग्रामीण क्षेत्रमा सञ्चार पहुँच विस्तारमा गरेको योगदानको प्रशंसा गरिन्।
नेपाल टेलिकमका नायव प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले फोरजी सेवा सातै प्रदेशका ७७ जिल्लाका ७४९ स्थानीय तहसम्म विस्तार भइसकेको र फाइभजी सेवाका लागि तयारी भइरहेको जानकारी दिए ।
साथै, FTTH सेवा विस्तार, Data Center निर्माण, नयाँ बिलिङ प्रणाली र Private Cloud Platform (NT Cloud) जस्ता प्रविधि परियोजनाहरुमा प्रगति भइरहेको बताए ।
२२औं वार्षिकोत्सवको अवसरमा कम्पनीले ग्राहकका लागि विशेष प्याकेज तथा सुविधा पनि घोषणा गरेको छ। यसअनुसार, माघ २२–२८ सम्म GSM Prepaid/Postpaid ग्राहकले विभिन्न Celebration Combo Pack र Data Bonus प्याकेज लाभ लिन सक्नेछन्। FTTH नयाँ जडान र नवीकरण गर्ने ग्राहकलाई जडान शुल्कमा छुट र मोवाइल Data बोनस उपलब्ध गराइने व्यवस्था गरिएको छ।
कार्यक्रममा कम्पनीका उत्कृष्ट बिक्रेता, कार्यालय र २० वर्ष सेवा पुरा गरेका कर्मचारीलाई सम्मान गरिएको थियो।
नेपाल टेलिकमले देशभर डिजिटल पहुँच, गुणस्तरीय सेवा र नवप्रवर्तनमा निरन्तर योगदान दिँदै “राष्ट्रको सञ्चार”को भूमिकालाई अझ मजबुत बनाउँदै आएको छ।
विभिन्न विधामा उत्कृष्ट संस्था र कार्यालय सम्मानित
नेपाल टेलिकमले २२औँ वार्षिकोत्सवको अवसरमा आयोजित वार्षिक कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था, कार्यालय तथा सेवाग्राहीलाई सम्मान गरेको छ । कार्यक्रममा प्रादेशिक निर्देशनालय, ठूला कारोबार गर्ने संस्था, रिचार्ज तथा लिज लाइन सेवाका प्रमुख प्रयोगकर्ता तथा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयहरूलाई चारवटा मुख्य विधामा सम्मान प्रदान गरिएको हो ।
बढी रकमको रिचार्ज कारोबार गर्ने डिलरअन्तर्गत विराटनगरबाट युवा ट्रेड इन्टरनेसनल, वीरगञ्जबाट ग्यालेक्सी इन्टरनेसनल ट्रेड सेन्टर, काठमाडौं र पोखराबाट क्यास पे ट्राली, भैरहवाबाट आरसी मार्केटिङ (रूपन्देही), सुर्खेत र नेपालगञ्जबाट ग्यालेक्सी इन्टरनेसनल ट्रेड सेन्टर तथा अत्तरिया (धनगढी) बाट केदार मोबाइल हाउस सम्मानित भएका छन् ।
त्यसैगरी, लिज लाइन सेवा प्रयोग गर्ने उत्कृष्ट ग्राहकतर्फ सरकारी संस्थामध्ये सर्वोच्च अदालत, रामशाहपथ, काठमाडौं तथा निजी संस्थातर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, दरबारमार्गलाई सम्मान प्रदान गरिएको छ ।
एफटीटीएच मर्मत सेवाअन्तर्गत पहिलो दिनमै उजुरी समाधान गर्ने उत्कृष्ट कार्यालयतर्फ विराटनगर कार्यालयले ९८.०८५ प्रतिशतसहित उत्कृष्ट प्रदर्शन गरेको छ । त्यसपछि नक्साल, काठमाडौंले ९७.४६ प्रतिशत, घनाकोट, पोखराले ९४.४२ प्रतिशत, मंगलापुर, भैरहवाले ९२.५४ प्रतिशत, महेन्द्रनगरले ८६.३३ प्रतिशत, दैलेखले ७९.६६ प्रतिशत तथा सिमराले ७३.८३ प्रतिशत सफलता दर हासिल गरेका छन् ।
नेपाल टेलिकमले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी, साझेदार संस्था तथा सेवाग्राहीलाई प्रोत्साहन गर्दै सेवा गुणस्तर अभिवृद्धि र ग्राहक सन्तुष्टि बढाउने लक्ष्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।



