बाल्यावस्थाको प्रारम्भिक चरणमा अभिभावकले बुझ्नै पर्ने कुराहरू
उमङ्ग जङ्ग पराक्रम शाह
जब एउटा सानो बच्चाले बोल्न सिक्दै गर्दा दिइएको निर्देशनलाई बुझ्न गाह्रो महसुस गर्छ, वा अन्य बालबालिकाहरूसँग सामाजिक सिपको प्रयोग गर्दै खेल्न जान्दैन, या यस्तै–यस्तै विविध विषयवस्तु उपर संघर्ष गर्न थाल्दछ, तब अनुत्तरित प्रश्नहरू मस्तिष्कमा खेलाउँदै परिवारको दौडधुप सुरु हुन्छ। एउटा परीक्षणबाट अर्को परीक्षणसम्म पुग्दा तिनका कति निष्कर्ष अलमलाउने हुन्छन्, त कति निराश बनाउने पनि। अझ कहिल्यै नसुनेका नामकरणहरू सुन्नुपर्दा अभिभावकहरूको चिन्ताको सीमा कहाँ पुग्छ भन्ने कुराको नापतोल नै हुँदैन।
कुनै पनि समस्या विशेषज्ञताको चश्माबाट निकै जटिल र महत्त्वपूर्ण रूपमा हेरिन र समालिनुपर्ने हुनसक्ला, त्यसलाई नकार्न पनि सकिँदैन, तर सामान्य रूपमा अभिभावकहरूले खोज्ने भनेको मेरो बच्चाले कसरी सिक्दैछ, पढ्दैछ, वा हामीले दैनिक जीवनमा हाम्रो बच्चालाई सहयोग गर्न के–के गर्न सक्छौँ भन्ने नै प्रायः हुन्छ। ठ्याक्कै त्यस्तै, विश्वव्यापी रूपमा हेर्ने हो भने केही समय यता प्रारम्भिक बाल्यकालसँग सम्बन्धित शिक्षा वा विकाससम्बन्धी सहायता र हस्तक्षेपहरू यिनै सधैंजसो परिवार र बच्चाले दैनिक जीवनमा बेहोर्ने आधारहरूकै वरिपरि केन्द्रित हुँदै गइरहेका छन्। विकासलाई जाँचसूचीमा आधारित एकाकी वा पृथक क्षमताका रूपमा होइन, बरु दैनिक जीवनमा व्याप्त सामाजिक–पारिवारिक सम्बन्ध, जीवनतालिका र अर्थपूर्ण भागीदारितालाई आजको परिवेशमा बढी महत्त्व दिन थालिएको छ। प्रारम्भिक बालविकासमा दैनिक जीवनमै महसुस गर्न सकिने तथा व्यावहारिक आधार भएका सहायताहरू समस्यामा–केन्द्रित हस्तक्षेपभन्दा भिन्न र निकै फलदायी हुनसक्छन्। “मेरो बच्चा किन ढिलो सिकिरहेको छ?” भन्ने प्रश्न बुझ्नु जरुरी छ, तर त्योभन्दा पनि बढी महत्वपूर्ण कुरा भनेको, मेरो बच्चालाई के–के उपलब्ध गराउँदा उसले जीवनका कोशेढुङ्गाहरू हुँदै अगाडि बढ्न सक्छ भन्ने हो। यी कुराहरूले बच्चाको जीवनको निभ तयार पार्छ, सञ्चार कौशल बढाउँछ, आत्मबलमा वृद्धि गर्छन र जीवनभर आत्मनिर्भर बन्न मद्दत गर्छ।
प्रारम्भिक रूपमा बालबालिकाले प्राप्त गर्ने वा गर्नुपर्ने सहायता तथा हस्तक्षेप सामान्य देखिन सक्छ, तर त्यसको महत्व र गहिराइ हामीले बुझ्नैपर्छ। जति छिटो हामीले बालबालिका र परिवारलाई आवश्यक सहायता पुर्याउन सक्छौँ, त्यति नै उपलब्धि पनि बलियो हुन सक्छ। समस्या आउँदा तिनलाई चरम अवस्थामा पुगेपछि मात्रै हेरौँला भनेर बस्नु उचित हुँदैन; बरु आवश्यक हस्तक्षेपहरू बेलैमा पुर्याउनुपर्छ। सुरुवाती अवस्थामै बालबालिकाका आवश्यकताहरू पहिचान गरी उनीहरूको सामान्य वातावरणमै रहेर पर्याप्त काम गरिनुपर्छ। सामान्य वातावरणमै रहेर भन्न खोजिएको कुरा के हो भने, यदि दैनिक जीवनमै सिकाइलाई एकीकृत गर्न सकियो भने त्यसको फाइदा निकै हुन्छ। उदाहरणका लागि, एउटा बच्चालाई सञ्चार कौशल सिकाउनुछ भने थेरापी रूममा मात्र सीमित राख्नु हुँदैन। अभिभावक वा शिक्षकहरूको सहयोगमा खेल्ने समय, खाने समय वा अन्य दैनिक गतिविधिहरूमा पनि यस्ता सीपहरू अभ्यास गराउन सकिन्छ। अझ अहिले त “पीयर–लर्निंग” अर्थात् साथीहरू मार्फत सिकाइलाई अगाडि बढाउने विधिहरू समेत लोकप्रिय हुँदै गइरहेका छन्। यसरी सिकाइ दैनिक जीवनसँग मिश्रित हुनुपर्छ, दैनिक जीवनकै एउटा भागजस्तै, न कि कुनै भिन्नै अप्राकृतिक कुरा जस्तो। यस्ता खालका पद्धतिहरूले बालबालिकाको वास्तविक सिकाइलाई अगाडि बढाउँछन्।
एउटा बच्चा एकैचोटि तथाकथित राम्रो हुने होइन। रातारात परिवर्तन निकै दुर्लभ हुन्छ, असम्भवजस्तै। सिकाइ प्रक्रिया बिस्तारै अगाडि बढ्छ। कति प्रयासमा सफल भइएला, फेरि कतिमा असफल पनि भइएला। कमीकमजोरी पहिचान गर्दै सहजीकरण गर्दै गए सफलता प्राप्ति त्यति गाह्रो पनि हुँदैन। तथापि, सफल हुनु वा असफल हुनु आखिर गणितीय हिसाब मात्र न हो। जीवनको मुख्य शिक्षा भनेको निरन्तर अग्रसर रहिरहनु नै हो। अनजानदेखि जानसम्मको यात्रा, उच्च आत्मबलसम्मको यात्रा र सुरुवातदेखि सीपले सम्पन्न भएसम्मको यात्रा नै जीवन हो। यो यात्रा एकैचोटि पूरा हुँदैन; उपलब्धि भनेकै बिस्तारै, क्रमशः प्राप्त हुने कुरा हो। शैक्षिक र बाल विकासका क्षेत्रमा भएका अनुसन्धानहरूले पनि यही नै देखाएका छन्। तसर्थ हतार गरेर वा द्रुत परिवर्तन खोजेर कुनै उपलब्धि हासिल हुँदैन। साना कलिला हातहरूबाट सिद्धता खोज्नु वा कुनै कुरामा पारङ्गत हासिल गराउन खोज्नु कत्तिको अर्थपूर्ण वा सहयोगी होला भन्ने कुरा हामीले नै बुझ्न जरुरी छ।
बालबालिकालाई सिकाइको भार बोकाएर तनाव बढाउने कार्य गर्नु भन्दा यसको विकल्पमा बाल विकासका साना–साना कोसेढुङ्गाहरूमा ध्यान दिने हो भने परिणाम चित्तबुझ्दो हुनसक्छ। थोरै नयाँ शब्द सिक्नु, एकछिन भए पनि पहिलेभन्दा बढी ध्यान दिन थाल्नु, वा अलिकति बढी आँखा जुधाएर अन्तरक्रिया गर्न खोज्नु यिनै कुराहरू नै बच्चाको वास्तविक उपलब्धि हुन्। बच्चाको लागि खोज्नुपर्ने सफलता यही नै हो, न कि हलिउडको काल्पनिक फिल्ममा देखाइने जस्तो पारङ्गत बच्चा। वास्तविकतामा त एउटा साधारण सुरुवाल लगाउन सिक्दा पनि मेरो बच्चाले पहिले त्यसलाई हेर्छ मात्र, त्यसपछि ठूलाको सहायतामा खुट्टा छिराएर कम्मरसम्म तान्न सिक्छ, र बिस्तारै आफैँले खुट्टा छिराएर सुरुवाललाई माथि तान्न सिक्छ। निरन्तर अभ्याससँगै सीप बढ्दै जान्छ। हरेक अभिभावकले बुझ्नुपर्ने कुरा यही नै हो। बच्चाको सम्पूर्ण विकास प्रक्रियालाई यही उदाहरणले प्रतिनिधित्व गर्न सक्छ। सिकाइ यात्रा हो, परीक्षाको प्राप्ताङ्क होइन। अभिभावक, शिक्षक वा अन्य ठूलाहरूले यी कुरा बुझेपछि मात्र वास्तविक सिकाइ सुरु हुन्छ, र उचित तथा अर्थपूर्ण सहायताको व्यवस्थापन पनि सम्भव हुन्छ।
आजको परिवेशमा हस्तक्षेप र सहायताका अर्थमा पनि बिस्तारै परिवर्तन आइरहेका छन्। बालविकासमा के कुराले काम गर्छ भन्ने विषयमा प्रोफेशनलहरूको दृष्टिकोण पनि बदलिँदै गइरहेको छ। हिजोको दिनमा हस्तक्षेपलाई कुनै एउटा निश्चित कार्यक्रमका रूपमा लिइन्थ्यो, जसलाई मूल ब्लुप्रिन्टअनुसार जस्ताको तस्तै अवलम्बन गर्नुपर्थ्यो। तर आज अन्तरक्रियाका घटकहरूलाई केन्द्रमा राख्ने अवस्था विकसित हुँदै छ। ठूला बढाले बच्चासँग कसरी अन्तरक्रिया गर्छन्, उनीहरूको उत्सुकतालाई कसरी प्रतिक्रिया दिन्छन्, बच्चाले सिक्न पाउने अवसर कति को पाउँछ, र यस्ता क्रियाकलापहरूलाई बालबालिकाको दैनिकीमा कसरी समावेश गर्न सकिन्छ, यिनै कुराहरू आज वास्तविक सिकाइका लागि आवश्यक आधारका रूपमा चिनिन थालेका छन्। बच्चाले अन्तरक्रिया गर्न खोज्दा अभिभावकले माया र संवेदनाका साथ प्रतिक्रिया दिनु, कुनै निश्चित संरचनामा केन्द्रित सिकाउने विधि वा योजनाभन्दा धेरै प्रभावशाली हुन्छ। साधारण तर मानवीय अन्तरक्रिया नै आजको दिनमा सबैभन्दा शक्तिशाली माध्यमका रूपमा बुझिएको छ, जसले बाल विकासलाई भरपूर सघाउँछ। विश्वव्यापी अनुसन्धानहरूले पनि यही कुराको पुष्टि गरिरहेका छन्।
आज बढ्दो चेतना स्तरसँगै परीक्षणका विधिहरू र त्यससम्बन्धी बुझाइहरूमा समेत महत्वपूर्ण परिवर्तनहरू आइरहेका छन्। कुनै निश्चित समय सीमा वा ठाउँभित्र मात्र रहेर गरिने मानकीकृत परीक्षण, वा कुनै विशेषज्ञले एकल रूपमा निष्कर्ष निकाल्ने परीक्षणभन्दा, बालबालिकाले आफ्नो वास्तविक जीवनमा कस्तो सीप प्रदर्शन गर्छ भन्ने कुरा हेर्न सकिने परीक्षणका विधिहरूलाई बढी महत्त्वका साथ हेरिन थालिएको छ। बच्चाले दैनिक रूपमा साथीहरूसँग खेल्दा कसरी अन्तरक्रिया गर्छ, आफ्नो दैनिकीलाई कसरी व्यवस्थित गर्छ, कसरी खान्छ, कसरी लाउँछ, कसरी हिँड्छ, आदि जस्ता कुराहरू बुझिनु नै प्रभावशाली परीक्षणका आधारहरू हुन्। प्रभावशाली परीक्षण तब सम्भव हुन्छ जब बच्चाले वास्तविक जीवनमा सिक्दै गर्दा उसको सिक्ने प्रक्रियालाई बुझ्न सकिन्छ। एकदमै नयाँ र अपरिचित ठाउँमा बच्चाको सिकाइ परीक्षण गर्दा त्यसबाट उचित परिणाम आउने अपेक्षा गर्न सकिँदैन। प्राकृतिक वातावरणमै सिकाइको परीक्षण गर्दा प्राप्त हुने सूचना अर्थपूर्ण हुन्छ, र यसले बच्चाको सिकाइमा कस्तो सहायताको आवश्यकता छ भन्ने कुरा पनि सिधै इङ्कित गर्छ।
हामीले छलफल गरेका विषयहरूलाई एकपटक एकै ठाउँमा राखेर हेर्ने प्रयास गर्यौँ भने प्रारम्भिक अवस्थामा बच्चालाई कस्तो सहायता दिनुपर्छ भन्ने कुराको स्पष्ट चित्रण गर्न सकिन्छ। समयमा दिइने हस्तक्षेप वा सहायता, प्रविधिमा–केन्द्रित दृष्टिकोणको विकल्प मानवीय सम्बन्ध, समयसँगै बढ्दै जाने बालविकासको अवधारणा, सिकाइमा दैनिक अन्तरक्रियाको आवश्यकता र प्रभाव, र परीक्षण त्यस्तो जसलाई प्राकृतिक रूपमा नै दैनिक जीवनका कार्यसँग एकीकृत गर्न सकियोस्। यी सबै पक्षहरू एक–आपसमा अन्तरसम्बन्ध राख्छन्। यसमा कमी, उसमा कमी भन्ने लेबल वा ठप्पाको साटो जीवित अनुभवहरूलाई केन्द्रमा राखेर हेर्ने प्रयास एकपटक हामीले पनि गर्ने हो कि? बच्चाले के गर्न सक्दैन भन्ने कुरामा घोत्लिनुको साटो, उनीहरूले एक–एक पाइला अगाडि बढाउँदै गर्दा के सिकिरहेका छन् भन्ने कुरामा पो ध्यान दिने हो कि? प्रोफेशनलहरूले पनि कठोर विधिको साटो लचकता, सहकार्य र व्यक्तिगत विभिन्नतालाई सम्मान गर्ने तर्फ सोच्ने हो कि? हामीले यति त बुझ्नैपर्छ कि कलिला बालबालिकालाई अत्यन्तै उत्कृष्ट योजनाभन्दा पनि सानासाना परिवर्तनमा साथ दिएर सहयोग गर्न सकिन्छ, वा यस्तो वातावरण सिर्जना गर्न सकिन्छ जहाँ उनीहरूले प्रयास गर्न सकून्, असफल भए पनि डर नमानून्, बरु फेरि प्रयास गर्न उत्साह र समर्थन पाऊन्, र निरन्तर बढ्न प्रेरणा मिलोस्। प्रारम्भिक विकासको अवस्थामा दिइने सहायताहरूमा यी पक्षहरूलाई एकीकृत गर्न सकेमा त्यो केवल प्रभावशाली मात्र होइन, मानवीय संवेदनाले समेत सिङ्गारित हुन सक्छ।
लेखक शाह बहुविषयगत अनुसन्धानकर्ता हुन्। मनोविज्ञान, शिक्षाशास्त्र र राजनीतिशास्त्र उनका प्रमुख अनुसन्धान क्षेत्रहरू हुन्। उनी हाल नेपाल एकेडेमी अफ साइकोलोजीमा निर्देशकको रूपमा कार्यरत छन्।



