मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ, जनमतलाई सम्मानका साथ स्वीकार्छुःओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको निर्वाचनमा आफुले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले जनताको मतलाई भने पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताएका हुन् ।
‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु,’ उनले भनेका छन् ।
उनले कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर पार्टीका पक्षमा उभिने मतदाता र नेता कार्यकर्तालाई धन्यबाद दिए ।
‘हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो,’ उनले भने ।




