सीमानामा काँडेतार लगाउन अनेरास्ववियू र युवा संघको माग |
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियू र राष्ट्रिय युवा संघले सीमानामा काँडेतार लगाउन माग गरेको छ ।
आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियू र युवा संघका नेताहरूले सीमानामा काँडेतार लगाई सुरक्षाफौज राख्न माग गरेका हुन् ।
ज्ञापन पत्र बुझाउन अनेरास्ववियूका संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङ र युवा संघ संयोजक रामप्रसाद सापकोटा दीपशिखा, सहसंयोजक रमेश पौडेल परराष्ट्र मन्त्रालय पुगेका थिए ।
उनीहरूले परराष्ट्र मन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा भारतले गत कात्तिकमा जारी गरेको राजनीतिक नक्सा खारेजी गर्न माग गरेका छन् ।
नेपाली भूमि अतिक्रमण गरी बनाइएको सडक सञ्चालनमा रोक लगाउन पनि उनीहरूको माग छ ।
उच्चस्तरीय कुटनीतिक पहलबाट सीमा समस्या समाधान गर्न उनीहरूले माग गरेका छन् ।



