हेलिकप्टर कम्पनीहरु मर्जरमा जानु पर्छ ː क्यान, नयाँ कम्पनीलाई लाइसेन्स नदिन व्यवसायीको माग |
काठमाडौं । कोभिड–१९ का कारण हवाई उड्डयन व्यवसाय धरापमा पर्ने देखिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर व्यवसायीलाई मर्जरमा जानका लागि सुझाव दिएको छ ।
हेलिकप्टर व्यवसायी र नेपाल नागरिक उड्डयन प्राधिकरण प्रतिनिधिबीच आइतबार छलफल भएको थियो । छलफलमा व्यवसायीलाई मर्जको विकल्प अवलम्बन गर्न सुझाव दिइएको प्राधिकरणका एक कर्मचारीले बताए । अल्टिच्युड एयरका सञ्चालक निमा नुरु शेर्पाले सञ्चालन खर्च न्यून गराउनुका साथै नियमन र सुपरिवेक्षण गर्न सहज हुने कुरालाई मुख्य आधार मान्दै प्राधिकरण र व्यवसायीबीच छलफल भएको जानकारी दिए ।
’कम्पनीहरू मर्जरमा गएपछि आयकर ऐनअनुसार बैंक र बीमा क्षेत्रले पाएको सुविधा पाउन सकिने हो भने व्यवसायी तयार छन्,’ उनले भने । कोभिड–१९ को संक्रमणकालीन अवस्थालाई मध्यनजर गर्दै तत्काल सरकारले नयाँ हेलिकप्टर कम्पनी दर्तामा रोक लगाउन सुझाव दिइएको शेर्पाले बताए ।
’यो विषम परिस्थितिमा हेलिकप्टर कम्पनी मर्जमा लानु एक हिसाबले राम्रो हो । तर यता मर्जरमा जाने अनि उता मन्त्रालयले धमाधम नयाँ कम्पनीलाई इजाजत दिने भयो भने मर्जको कुनै अर्थ रहँदैन’,’ उनले भने, ’अहिलेको अवस्था हेर्दा सीमित अवधिका लागि नयाँ कम्पनीलाई इजाजत नदिँदा राम्रो देखिन्छ । मर्जमा गएपछि बीमा, बैंकिङ क्षेत्रलाई आयकर ऐनअन्तर्गत दिइँदै आइएको रिलीफ प्याकेज हेलिकप्टर कम्पनीलाई पनि दिइनु आवश्यक देखिन्छ ।’
छलफलमा प्राधिकरणले ल्याण्डीङ, पार्किङ, रेन्टल लगायतमा ७५ प्रतिशत छुटबारे पनि कुरा भएको जनाएको छ । ’हेलिकप्टर कम्पनी मर्ज गरेर नियमन तथा सुपरिवेक्षण चुस्त बनाउने गरी काम अगाडि बढेको छ,’ प्राधिकरणका कर्मचारीले भने ।



