सगरमाथा आधार शिविरमा चीनले गर्यो फाइभजी विस्तार |
संसारकै अग्लो हिमाल सगरमाथामा फाइभजी मोबाइल नेटवर्क पुगेको छ । गएको शनिबार चीनतर्फको सगरमाथा आधार शिविरमा फाइभजी नेटवर्क विस्तार भएको हो ।
चिनियाँ समाचारपत्र ग्लोबल टाइम्सको अनलाइन संस्करणमा प्रकाशित समाचारअनुसार उक्त क्षेत्रमा चाइना मोबाइल र हुवावेले सयुक्त रूपमा फाइभजी नेटवर्क विस्तार गरेका हुन् ।
योसँगै संसारकै अग्लो ठाउँमा फाइभजी विस्तार भएको छ ।
ग्राहकका हिसाबले संसारकै ठूलो टेलिकम चाइना मोबाइलले सगरमाथा क्षेत्रको ५ हजार ३ सय,५ हजार ८ सय र ६ हजार ५ सय मिटरको उचाइमा स्टेशन राखेको छ । यी स्टेशनबाट त्यो क्षेत्रमा फाइभजी नेटवर्कले काम गर्ने छ ।
१० लाख अमेरिकी डलर खर्चमा विस्तार भएको यो नेटवर्कको परीक्षण गति डाउनलोडमा ७०० एमबिपिएस र अपलोडमा २२३ एमबिपिएस रहेको छ ।



