बिरामीको सेवामा सरकारी गाडी प्रयोग गर्न गोविन्द केसीको आग्रह |
काठमाडौं । डा. गोविन्द केसीले ग्रामीण क्षेत्रमा सरकारी सवारीसाधनको प्रयोग गरेर विरामीलाई सहजीकरण गर्न आग्रह गरेका छन् ।
एक विज्ञप्ति जारी गर्दै उनले लकडाउनका कारण सवारीसाधन ठप्प भएको अवस्थामा ग्रामीण क्षेत्रमा अन्य बिरामी, रुख वा भीरबाट लडेर हुने चोटपटक लागेकालाई असर परेको बताएका छन् ।
हाल डडेल्धुरा अस्पतालमा सेवा गरिरहेका डा. केसीले ग्रामीण क्षेत्रमा एम्बुलेन्स पर्याप्त नभएकाले अन्य बिरामी र चोटपटक लागेकालाई अस्पताल पुर्यायउन समस्या सिर्जना भएको औंल्याएका छन् ।
निजी गाडीलाई २० वा ३० हजारसम्म तिरेर अस्पताल आउनुपर्ने बाध्य भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन् । समयमै उपचार गर्दा निको हुने खालका समस्या समेत पछि जटिल भई अपांगता देखिने भएकाले त्यस्ता व्यक्तिका लागि सरकारी गाडीको प्रयोग गर्न उनले आग्रह गरेका छन् ।
विज्ञप्तिमा उनले भनेका छन् ‘सरकारी गाडीहरु अहिले निश्क्रिय छन् । त्यसैले यातायात सेवा सुचारु नहुन्जेलका लागि ती गाडीहरुमा बिरामीलाई अस्पताल ल्याउने विशेष व्यवस्था गर्न सम्बन्धित मन्त्रालयहरुलाई अपिल गर्दछु ।’



