वडा कार्यालयमा सुकुम्बासीले लगाए ताला, जनप्रतिनिधिलाई भित्रै थुनियो |
कैलाली । राहतको नपाएको भन्दै सुकुम्बासीले कैलालीको जानकी गाँउपालिकाका वडा नम्बर ५ का अध्यक्षलगायत जनप्रतिनिधिलाई कार्यालयमा थुनेका छन् ।
राहत वितरणमा पारदर्शीता नभएको र पाउनुपर्नेले राहत नपाएको भन्दै सुकुम्बासीले कार्यलयमा मंगलबार दिउँसो ताला लगाएका हुन् ।
दैनिक ज्यालामजदुरी गर्नेहरूलाई राहत दिन ढिलाई गएिको भन्दै कार्यलयभित्रै अध्यक्षलगायत जनप्रतिनिधिहरुलाई थुनेर ताला लाइएको स्थानीय तुलाराम चौधरीले बताए ।
’वडामा रहेको सुकुम्बासी टोलका मजदुरी गरि खानेलाई राहत दिन ढिलाई भएकोमा स्थानीयले विरोध गरेका हुन्,’ उनले भने ।
६ गते दिने भनिए पनि राहत आजसम्म नदिएपछि सुकुम्बासी वस्तिमा दैनिक ज्यालादारी गरि परिवार चलाउनेहरु समस्यामा परेका छन् ।
अर्का स्थानीय प्रेम चौधरीले विपन्न वर्गका लागि बैशाख ६ गते दिने आश्वासन दिएपनि राहत नपाइएपछि तालाबन्दी गर्नुपरेको बताए । ’छ गते मजदुरहरुलाई राहत दिने भनेर वडा अध्यक्षले भनेका थिए । त्यो अनुसार काम नभएपछि तालाबन्दी गरेका हौं,’ उनले भने ।
स्थानीय निर्मला चौधरीले अमौरी सुकुम्वासी टोलमा २ सय बढी परिवार लकडाउनका कारण समस्यामा परेका बताइन् । ’केहि परिवारलाई मात्रै राहत दिइयो बाँकी सयौं परिवार भोकै बस्नुपर्ने अवस्था आएपछि वडा कार्यालय आएका हौं,’ उनले भनिन् ।
वडा कार्यालयमा ५ सय १९ परिवारले राहत माग गर्दै फारम भरेकोमा बडघर, राजनितिक दल, अगुवा र जनप्रतिनिधिको छलफलबाट २ सय ६२ परिवार राहतका लागि छनोटमा परेको वडा कार्यालयले जनाएको छ ।
जसमध्ये १ सय ९८ परिवारलाई पहिलो चरणमा राहत दिएको वडा अध्यक्ष भिम बहादुर थारूले बताए ।
’बाँकी रहेका ६४ परिवारलाई गएको ६ गते नै राहत वितरण गर्ने भनेका थियौं,’ उनले भने ’तर अन्य वडामा राहत विरण जारी रहेकाले कार्यपालिकाको बैठक पछि सबै वडामा आवश्यता अनुसार दोस्रो चरणको राहत दिने तयारी छ ।’
बाँकी रहेका, छुट परिवारको फारम लिने र दोस्रो चरणको राहत वितरण गर्ने तयारीमा वडा कार्यालय जुटेको उनको दाबी छ । अहिले ताला खोलिसकिएको छ ।
प्रहरी चौकी अमरावतीका इन्चार्ज असई सुरेन्द बहादुर पालले वडा अध्यक्ष सहित ८ जनालाई कार्यालयै थुनिएको अवस्थामा प्रहरी पुगेर स्थानीयलाई सम्झाई बुझाई गरि अवस्था सामान्य बनाइएको बताए । ’वडा अध्यक्ष ज्युले स्थानीयले कार्यालमै थुने भनेर फोन गरेपछि हाम्रो टोली पुगेको थियो । अध्यक्ष ज्युको कार्यकक्षमा अरू ७ जनालाई बन्द गरेका रहेछन्,’उनले भने ’मान्छे थुनेर हुँदैन, छलफलबाट समाधान हुन्छ भनेपछि स्थानीयले गाउँपालिकामा कुरा गर्ने गरि सहमति भएको छ ।’
प्रहरीले ताला खोलेर जनप्रतिनिधिलाई २ घण्टापछि बाहिर निकालेको थियो ।



