नेपाल पूर्वाधार सम्मेलन आर्थिक समृद्धिसँग जोडिएको छ: अध्यक्ष पाण्डे
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले आसन्न नेपाल पूर्वाधार सम्मेलन-२०२६ मुलुकको आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको बताएका छन् ।
नेपाल पूर्वाधार सम्मेलन-२०२६ को तयारीका सिलसिलामा आयोजित ‘लगानी र विकासका लागि कानुन सुधार परामर्श कार्यशाला गोष्ठी’लाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष पाण्डेले उक्त विचार व्यक्त गरेका हुन् । सम्बोधनका क्रममा उनले पूर्वाधार सम्मेलन अगावै पूर्वाधारमैत्री ऐन कानुन तर्जुमा गर्न वर्तमान सरकारले गरिरहेको प्रयासको उच्च तारिफ गरे । भौतिक पूर्वाधारको वास्तविक विकासका लागि निर्माण-मैत्री ऐन, कानुन र कार्यविधि अपरिहार्य रहेको उनको भनाइ थियो।
अध्यक्ष पाण्डेले निर्माण क्षेत्रको विकासमा सार्वजनिक खरिद ऐन र नियमावली मात्र नभएर वन, बैंक तथा मध्यस्थता लगायतका विषयसँग जोडिएका विद्यमान ऐन कानुनहरू बाधक बनिरहेको तर्फ सरकारको ध्यानाकर्षण गराए ।
आफ्नो विगतको अनुभव स्मरण गर्दै उहाँले आफू वाईसीएनसीको अध्यक्ष हुँदा सन् २०१४ मा सीएनआई सँगको सहकार्यमा पहिलो पटक पूर्वाधार सम्मेलन आयोजना गरिएको जानकारी दिए । मुलुकको आर्थिक प्रगतिका लागि यस्ता सम्मेलनहरू निरन्तर हुनुपर्नेमा उनले जोड दिए ।
विगतका सम्मेलनहरूबाट पारित भएका कतिपय महत्त्वपूर्ण निर्णयहरू अझै सम्म पनि कार्यान्वयन हुन नसकेको प्रति चासो व्यक्त गर्दै अध्यक्ष पाण्डेले वर्तमान सरकारबाट ती निर्णयहरू पूर्ण रूपमा कार्यान्वयन हुने बलियो आशा व्यक्त गरे ।



