बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दोब्बरले वृद्धि |
लन्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या सोमबारको तुलनामा मंगलबार ह्वात्तै बढेको छ ।
‘डिपार्टमेन्टअफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारीअनुसार २४ घन्टाभित्र बेलायतको अस्पतालमा कोरोनाबाट थप ८ सय ७३ जनाले ज्यान गुमाएका छन् ।
जसमा नर्दर्न आएरल्याण्डको मृतकको संख्या भने सामेल गरिएको छैन । गएको २४ घन्टामा इंग्ल्याण्डमा ७७८ जना स्कटल्याण्डमा ७० जना र वेल्समा २५जनाको मृत्यु भएको बताइएको छ । सोमबार सार्वजनिक तथ्यांक अनुसार गएको दुई सातामध्यकै सबैभन्दा कम ४४९ जनाको मृत्यु भएको उल्लेख गरिएको थियो ।
मंगलबार सार्वजनिक तथ्यांक हिजोको तुलनामा झन्डै दोब्बर पुगेको छ । योसँगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुने कुल संख्या १७ हजार ४ सय ८ पुगेको छ ।
हाल सार्वजनिक तथ्यांकमा प्राइभेट रेसिडेन्ट तथा केयर होममा मृत्यु हुनेको संख्या उल्लेख नगरिएको र उक्त संख्या गत अप्रिल १० सम्ममा ४१ प्रतिशतले बढी रहेको बताइएको छ ।
गत अप्रिल १० सम्म सरकारी अस्पतालको तथ्यांक अनुसार ९ हजार २ सय ८८ जनाको मृत्यु भएको देखाइएको भए पनि उक्त संख्या १३ हजार १ सय २१ रहेको नेशनल स्टाटिस्टिकको कार्यालयले जाजनाएको छ । यसरी हेर्दा बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ हजार भन्दा पनि हुनसक्ने बताइएको छ ।



