‘राम नाम सत्य है’ भन्दै मुस्लिमले उठाए हिन्दु छिमेकीको शव |
गत शनिबार भारतको उत्तर प्रदेशको बुलंदशहर जिल्लास्थित आनन्द विहारमा एक जनाको मृत्यु भयो । रविशंकर नामका ती व्यक्तिको मृत्युपछि उनका छोराले आफन्त, साथीभाइ तथा छिमेकीहरूलाई गुहारे । हिन्दु परम्पराअनुसार शवलाई नजिकैको नदी किनाररघाटमा लिएर जलाउनु पर्छ । त्यसका लागि कम्तीमा पनि ४∕५ जना मान्छे चाहिन्छन् ।
ती व्यक्तिको के कारणले मृत्यु भएको बताइएको छैन । तर कोरोना त्रास चलिरहेकाले उनको शव उठाउन कोही आएनन् ।
उनका छोराले एक्लै बुवाको शव बोकेर लिन सकेनन्। छिमेकमा मुस्लिम बस्ती थियो । तर उनीहरूको मृत्यु संस्कार अर्कै हुने भएकाले छोराले आउलान् भन्ने ठानेका थिएनन् ।
तर केहीबेरपछि मुस्लिम समुदायका मान्छे रविशंकरको घरमा आइपुगे । उनीहरूले रविशंकरका छोराको आँशु पुछे र अन्तिम संस्कारमा आफूहरूले सहयोग गर्ने बताए ।
शव बाँसमा राखेर बाँधे। शव उठाएपछि उनीहरूले भने, राम नाम सत्य है । हिन्दुहरूले शव उठाएर घाटसम्म पुर्याूउँदा राम नाम जप्ने गर्छन् ।
रविशंकरको मलामी गएका मुस्लिम छिमेकीहरू दाह संस्कार गरेर साँझमात्र छोरासँग घर फर्किए ।
मुस्लिम छिमेकीले रविशंकरको शव उठाएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
शवबाट कोरोना भाइरस सर्छ कि सर्दैन भन्ने अहिलेसम्म यकिन भइसकेको छैन । तर धेरै मानिसहरू भने भाइरस सर्ने डरले मृतकको नजिक जान डराउँछन् ।



