लीना दुवाडीको पहिलो पुस्तक ‘काठमाडौं टु क्यालिफोर्निया’ अमेरिकामा सार्वजनिक
क्यालिफोर्निया, अमेरिका । नेपाली लेखक तथा कुनै बेला भारतको सबैभन्दा चर्चित भाइरल कन्टेन्ट प्रकाशन गर्ने डिजिटल मिडिया प्लेटफर्म WittyFeed की पूर्व प्रधान सम्पादक लीना दुवाडीको पहिलो पुस्तक ‘काठमाडौँ टु क्यालिफोर्निया: द रोड टु रिडिस्कभरिङ सेल्फ लभ’ (Kathmandu to California: The Road to Rediscovering Self-Love) सार्वजनिक भएको छ। नेपालदेखि भारत हुँदै अमेरिकासम्मको जीवनयात्रालाई आधार बनाएर लेखिएको यस पुस्तकमा लेखिका दुवाडीले व्यक्तिगत अनुभव, जीवनका चुनौती, भावनात्मक उतारचढाव र आत्मप्रेमको खोजीलाई प्रस्तुत गरेकी छन्।
आत्मकथा र आत्मविकासलाई संयोजन गरिएको यस पुस्तकले बाह्य सफलता हासिल गर्ने क्रममा मानिसले आफैँसँगको सम्बन्धलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने सन्देश दिन्छ। जीवनमा आइपर्ने कठिन परिस्थिति, सम्बन्धमा आउने परिवर्तन, व्यक्तिगत संघर्ष र अनपेक्षित मोडहरूले मानिसलाई कसरी आत्मबोध, आत्मस्वीकृति र व्यक्तिगत रूपान्तरणतर्फ डोर्याउन सक्छन् भन्ने विषय पुस्तकको केन्द्रमा छ।
दुवाडीले आफ्ना जीवनका तीता–मीठा अनुभवमार्फत प्राप्त सिकाइलाई पाठकसमक्ष राखेकी छन्। आत्मप्रेमलाई केवल आफूलाई माया गर्ने भावनाका रूपमा मात्र नभई आत्मसम्मान, भावनात्मक सुदृढता, आन्तरिक शान्ति र स्वस्थ जीवनदृष्टिको आधारका रूपमा पुस्तकमा प्रस्तुत गरिएको छ। आत्मविकासका सन्देशसँगै व्यक्तिगत अनुभव समेटिएकाले यो पुस्तक आत्मप्रेम, व्यक्तिगत विकास, भावनात्मक स्वास्थ्य तथा आध्यात्मिक चेतनामा रुचि राख्ने पाठकका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।
पुस्तक र लेखनयात्राबारे दुवाडी भन्छिन्- “यो पुस्तक मेरो जीवनयात्राका अनुभवहरूलाई शब्दमा उतार्ने प्रयास र आफैँलाई बुझ्न अनि स्वीकार गर्न सिकेको यात्राको अभिव्यक्ति हो। हामी जीवनमा सफलता, सम्बन्ध र अरूका अपेक्षाहरू पूरा गर्न यति व्यस्त हुन्छौँ कि कहिलेकाहीँ आफ्नै भावनालाई सुन्न, बुझ्न, महसुस गर्न र आफूलाई माया गर्न बिर्सन्छौँ। मेरा अनुभवले मलाई आत्मप्रेम भनेको स्वार्थ होइन, बरु आफूलाई बुझ्ने, स्वीकार गर्ने र जीवनका चुनौतीबीच पनि आफूभित्रको शक्ति पहिचान गर्ने प्रक्रिया हो भन्ने सिकाएका छन्। मेरा अनुभव र आत्मिक यात्रालाई पढेर कुनै एक पाठकले मात्र भए पनि आफ्नो जीवनलाई नयाँ दृष्टिकोणबाट हेर्न र आफैँसँगको सम्बन्धलाई महत्त्व दिन प्रेरणा पाउनुभयो भने मेरो लेखन सार्थक हुनेछ।”
लेखकबारे
दुवाडीको पत्रकारिता, ब्रोडकास्टिङ र लेखन करिअर नेपालको चितवनस्थित सिनर्जी एफएमबाट सुरु भएको हो। त्यसपछि उनले भारतमा विभिन्न टेलिभिजन प्रस्तोताका रूपमा काम गरिन्। सन् २०१४ देखि उनी विश्वकै चर्चितमध्येको एक भाइरल कन्टेन्ट प्रकाशकमध्येको एक WittyFeed को प्रधान सम्पादककको रूपमा पांच बर्ष काम गरिन्। सामाजिक सञ्जालमार्फत व्यापक पाठकसम्म पुग्ने डिजिटल सामग्री उत्पादन र सम्पादकीय नेतृत्वको अनुभव उनको व्यावसायिक यात्राको महत्त्वपूर्ण हिस्सा हो। पछि अमेरिकामा विभिन्न पत्रिकासँग आबद्ध भएर पत्रकारिता तथा लेखन क्षेत्रमा अनुभव हासिल गरिन्।
पत्रकारिता र लेखनसँगै दुवाडी आध्यात्मिक प्रशिक्षणमा पनि संलग्न छिन्। उनी ब्रह्माकुमारी संस्थासँग आबद्ध छिन्। जीवनका व्यक्तिगत अनुभव, पत्रकारिताबाट प्राप्त दृष्टिकोण र आध्यात्मिक अभ्यासबाट विकसित आत्मचिन्तनलाई पुस्तकमार्फत पाठकसमक्ष पुर्याउने उनको प्रयास यस कृतिमा प्रतिबिम्बित भएको छ।
पुस्तकबारे
‘काठमाडौं टु क्यालिफोर्निया: द रोड टु रिडिस्कभरिङ सेल्फ लभ’ को पेपरब्याक संस्करण अमेरिका, क्यानडालगायतका बजारमा तथा ई–बुक संस्करण विश्वभर उपलब्ध रहेको जानकारी दिइएको छ। पुस्तक Amazon मार्फत प्राप्त गर्न सकिन्छ।
पुस्तकले व्यक्तिगत संघर्षलाई कमजोरीका रूपमा मात्र नहेरी आत्मबोध र परिवर्तनको अवसरका रूपमा बुझ्न प्रेरित गर्छ। आफ्ना अनुभव र सिकाइ साझा गर्दै दुवाडीले पाठकलाई जीवनको यात्रामा अरूको अपेक्षासँगै आफ्ना भावना, आवश्यकता र आन्तरिक शान्तिलाई पनि प्राथमिकता दिन आग्रह गरेकी छन्।




