महाकालीमा हाम फालेर पौडिँदै नेपाल आएका तीन जनालाई प्रहरीले पक्रियो | धार्चुलामा रहेकालाई नेपाली लाई उतै व्यवस्था गर्छौं ː सिडिओ
धनगढी । महाकालीमा हाम फालेर पौडिँदै नेपाल आएका तीन जनालाई दार्चुला प्रहरीले पक्राउ गरेको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले महाकाली नदी पार गरेर आएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जानकारी दिए ।
‘तीन जना पुरूष पौडी खेलेर नेपाल आएका रहेछन् । उनीहरूलाई पक्राउ गरी स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको छ,’ प्रजिअ पौडेलले भने, ‘उनीहरूलाई दार्चुला सदरमुकाममा रहेको क्वारेन्टाइनमा राख्छौं ।’
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले दार्चुलाका रमेश विष्ट, बैतडीका इन्द्रसिंह खाँती र धनबहादुर धामी महाकालीमा हेलिएर नेपाल आइपुगेको बताए ।
उनीहरू दार्चुलापारि भारतीय भूमि धार्चुलामा मजदुरी गर्ने हुन् वा दिल्लीलगायत ठाउँबाट आएका हुन् भन्नेबारे खुलिनसकेको उनले बताए ।
यसअघि आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले दशगजा क्षेत्रमा रहेका नेपालीहरूले अनिवार्य क्वारेन्टाइनमा बस्ने गरी परिचय पत्र हेरेर नेपाल छिर्न दिने निर्णय गरेको थियो ।
बैठकपछि निर्णय सुनाउँदै प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले भनेका थिए( उहाँहरूको परिचय पत्रका आधारमा पहिचान गरेर नजिकको सम्बन्धित स्थानीय तहमा अनिवार्य रूपले क्वारेन्टाइनमा रहने गरी लगत लिएर नेपाल प्रवेश गर्न दिने निर्णय भएको छ ।
तर सोमबार विडारीले भनेको उक्त निर्णय कार्यान्वयन भएन । सञ्चारमाध्यममा नेपाली फिर्ता ल्याउनेबारे सुनेका दार्चुलाका प्रजिअ पौडेलले सोमबार दिउँसोसम्म उनीहरूलाई नेपाल ल्याउनेबार गृह मन्त्रालयको आदेश कुरिरहेका थिए । उनीहरूलाई राख्नलाई क्वारेन्टाइनको पनि व्यवस्था गर्दै थिए ।
सोमबार दिउँसो गृहबाट आदेश गयो, नाका नखोल्नू । ’माथिबाट खोल्न हुन्न भन्ने कुरा आएको छ । जो जहाँ छ त्यही व्यवस्थापन गर्ने भन्ने कुरा भएको छ,’ उनले भने,’भारतसँग पनि कुरा भएको छ । त्यसैले नाका खुल्ने सम्भावना छैन ।’
गृहको यो निर्णयसँगै आफ्नो देशको आँगनमै आएका नेपालीहरू फेरि भारतमै बस्न बाध्य भएका छन् ।



