इटालियन ब्रुमरको कमाल, एकैरातमा १८ टन धूलो संकलन |
काठमाडौं । काठमाडौंमा एकै रातमा १८ टन धूलो संकलन भएको छ । काठमाडौं महानगरपालिकाका पाँचवटा ब्रुमरले हिजो बुधवार राति १३ स्थानमा धूलो संकलन गरेका छन् । काठमाडौं महानगरपालिका कार्य सञ्चालन शाखाका अनुसार सुन्धारा, टुँडिखेल, रत्नपार्क, कान्तिपथ, जमल, प्रदर्शनीमार्ग, पुतलीसडक, माइतीघर, बानेश्वर, त्रिपुरेश्वर, टेकु, कालिमाटी, सोल्टिमोडसम्म सफा गर्दा १८ टन धूलो जम्मा भएको हो ।
सबैभन्दा धेरै धूलो रत्नपार्क, सुन्धारा, जमल, त्रिपुरेश्वर क्षेत्रका सडकबाट संकलन भएको महानगरपालिकाले बताएको छ । महानगरपालिकाका अनुसार यी क्षेत्रबाट डेढ टिप्पर धूलो संकलन भएको थियो ।
काठमाडौं उपत्यकाका सडकमा रहेको धूलो सफा गर्नका लागि हालै इटालीबाट ल्याइएका ब्रुमरले सडकको धूलो ट्यांकीमा जम्मा गर्ने गर्छ । ४.६८ घनमिटर भण्डारण क्षमता रहेको ब्रुमरको ट्यांकी भरिएपछि टिप्परमा खनाइन्छ । त्यसपश्चात् उक्त धूलोलाई महानगरपालिकाको फोहोर संकलन केन्द्र टेकुमा बिसर्जन गर्ने गरिएको छ ।



