घरेलु उद्योग, कृषि र गाईपालनमा विदेशी लगानी भित्र्याउने अडानबाट पछि हट्यो सरकार |
काठमाडौं । लघु घरेलु तथा साना उद्योगमा विदेशी लगानी भित्र्याउने अडानबाट सरकार पछि हटेको छ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शलगायतका निजीक्षेत्रका संस्थाहरूको उक्त व्यवस्थाको विरोध गरेपछि सरकार उक्त अडानबाट पछि हटेको हो ।
सरकार वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनको विधेयकमा घरेलु उद्योगमा समेत विदेशी लगानी भित्र्याउन सकिने व्यवस्था अघि सारेको थियो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले घरेलु तथा साना उद्योगअन्तर्गत रहेको मौलिक प्रकृति र आत्मनिर्भरताको बाटोमा रहेका घरेलु उद्योगमा विदेशी लगानी नभित्र्याउने स्पष्ट पारेका छन् । उनले विदेशी लगानी भित्र्याउन लागिएको भन्दै सांसदहरूले प्रश्न गरेपछि मन्त्री खतिवडाले सरकारको धारणा राखेका हुन् ।
उनले निश्चित सीमाभन्दा साना विदेशी लगानी स्वीकार नगर्ने व्यवस्था ऐनमा प्रस्ताव गरिएकाले घरेलु उद्योगमा विदेशी लगानी आउने सम्भावनै नरहेको खुलस्त पारेका छन् । उनले भने, ‘घरेलु प्रकृतिका लाग्ने केही उद्योगमा विदेशी लगानी आवश्यक देखिएकाले ऐनमा त्यस्तो प्रस्ताव गरिएको हो । तर घरेलु उद्योगमा खुद्रे विदेशी लगानी भने लिइँदैन ।’
त्यस्तै, अर्थमन्त्री डा. खतिवडाले कृषि र गाईपालनमा पनि विदेशी लगानी नभित्र्याउने प्रष्ट पारे । बरु उनले दुग्ध प्रशोधन केन्द्रमा विदेशी लगानी भित्र्याएर विश्वस्तरीय दुग्धजन्य उत्पादन तयार पारी निर्यात गर्ने दाबी पनि गरे ।

