हेटौंडाका बर्डफ्लु देखा परेको पुष्टि, नियन्त्रणका लागि टोली परिचालन |
हेटौंडा । हेटौंडामा दुई साताअघि दुई दिनको अन्तरालमा करोडौं रुपैयाँको क्षति हुने गरी कुखुरा मर्नुको कारण बर्डफ्लु नै भएको पुष्टि भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले मरेको कुखुराको नमूना परीक्षण गर्दा बर्डफ्लुको जीवाणु भेटिएको बताएका छन् । उनले परीक्षणमा बर्डफ्लु लागेको प्रमाणित भएपछि हेटौंडामा चारकिल्ला तोकी नियन्त्रणका लागि टोली परिचालन गरिसकिएको समेत जानकारी दिए ।
हेटौंडाका किसान कुलप्रसाद चौलागाईंले पालेका कुखुराको नमूना परीक्षणमा बर्डफ्लुको जिवाणु भटिएको हो । किसानले दिएको जानकारीअनुसार हेटौंडा–७ मा १० हजारभन्दा बढी कुखुरा मरेका थिए । भेटेनरी अस्पतालले एच नाइन भाइरसको सङ्क्रमण भएको पुष्टि गरे पनि बर्डफ्लु नभएको बताएको थियो ।
विशेष परीक्षणमार्फत नमूना पठाइएको १५ दिनपछि बर्डफ्लु भएको पुष्टि भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख चेतनारायण खरेलले जानकारी दिए । उनले भने, ‘मकवानपुरमा कुखुरा बर्डफ्लु लागेको पुष्टि भयो, नियन्त्रणको विषयमा छलफल हुँदै छ ।’
मकवानपुरका प्रमुख जिल्ला अधिकारीले यस सम्बन्धमा भर्खरै आपत्कालीन बैठक सम्पन्न भई नियन्त्रणको काम शुरू भइसकेको बताए । हेटौंडा उपमहानगरपालिकाको व्यावसायिक कुखुरापालनका लागि पकेट क्षेत्र मानिने क्षेत्रमा किसानका हजारौं कुखुरा केही दिनको अन्तरालमै सखाप भएपछि चिन्तित बनेका किसान बर्डफ्लु प्रमाणित भएपछि झनै चिन्तित बनेका छन् ।

