भारतको बल्ल चेतना खुल्यो, भारु २०० र ५०० का नोट चलनचल्तीमा ल्याउन आग्रह |
काठमाडौं । दुई वर्षअघिदेखि आफ्नो मौद्रिक नीतिमा परिवर्तन गर्दै भा.रु. ५ सय र १ हजार दरका नोटमा नोटबन्दी गरेको भारतको बल्ल चेतना खुलेको छ । नेपाल सरकारले पनि भारु १ सयभन्दा ठूलो अंकका नोटमा प्रतिबन्ध लगाएको तीन महिना पनि नबित्दै भारतले उच्च दरका भारतीय रुपैयाँ नेपालमा खुला गर्न आग्रह गरेको हो।
भारतको केन्द्रीय बैंक ‘रिर्जभ बैंक अफ इण्डिया’ले नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै भारु २०० र भारु ५०० का नोट चलनचल्तीमा ल्याउन अनुरोध गरेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले जानकारी दिएका हुन् ।
नेपाल भ्रमणमा आउने भारतीयहरूले ठूला दरका नोट २५ हजारसम्म साथमा बोक्न पाउने व्यवस्था गर्न भारतले माग गरेको हो । ठूला नोट नचल्दा नेपाल भ्रमणमा आउने भारतीय पर्यटकहरूले सास्ती खेप्नुपरेको भारतले पठाएको उक्त पत्रमा उल्लेख भएको बताइएको छ ।
भारतले दुई वर्षअघि नोटबन्दी गर्दै नेपालीसँग बाँकी रहेका त्यस्ता नोट फिर्ता लिनसमेत इन्कार गरेपछि लाखौ नेपालीले आफूसँग भएको अर्बौं भारतीय रुपैयाँ गुमानुपर्यो ।
नोटबन्दी गरेपश्चात् नेपालीसँग भएका नोट फिर्ता नलिएपछि नेपाल सरकारले पनि भारु १ सयभन्दा माथिका नोट नेपालमा प्रतिबन्ध लगायो । त्यसअघि नेपालीले भारु २५ हजारसम्म ठूला नोट पनि साथमा राख्न पाउने व्यवस्था थियो ।

