सिटिजन्स सुपर ५० म्युचुअल फन्डको इकाई बिक्री खुला
काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स सुपर ५० म्युचुअल फन्डको इकाई निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले मंसिर २ गतेदेखि सर्वसाधारणका लागि इकाई बिक्री खुला गरेको हो ।
सिटिजन्स बैंक इन्टरनेसनल कोष प्रवर्द्धक र सिटिजन्स क्यापिटल योजना व्यवस्थापक रहेको उक्त बन्दमुखी योजनाको अवधि १० वर्ष रहेको छ । योजनाको प्रारम्भिक आकार १ अर्ब रुपैयाँ तोकिएको छ । माग तथा आवेदनको अवस्थाका आधारमा योजनाको आकार अधिकतम १ अर्ब २५ करोड रुपैयाँसम्म पुर्याउन सकिने व्यवस्था गरिएको छ ।
योजनाको इकाई खरिदका लागि आवेदन दिने समय छिटोमा मंसिर ७ गतेसम्म र ढिलोमा मंसिर १६ गतेसम्म तोकिएको छ । योजनाको कुल आकारको १५ प्रतिशत रकम कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनलले बीज पुँजीका रूपमा लगानी गर्नेछ ।
सिटिजन्स सुपर ५० म्युचुअल फन्डको मुख्य विशेषता ५० वटा उत्कृष्ट तथा लगानीयोग्य कम्पनी छनोट गरी तिनको सेयरमा लगानी केन्द्रित गर्नु रहेको क्यापिटलले जनाएको छ । छनोट गरिएका कम्पनीमा लगानी गरी विविधीकृत पोर्टफोलियो निर्माण गर्ने र व्यावसायिक व्यवस्थापनमार्फत दीर्घकालीन प्रतिफल अभिवृद्धि गर्ने योजनाको लक्ष्य रहेको कम्पनीको भनाइ छ ।
यस योजनामा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले मेरो सेयर तथा आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत इकाई खरिदका लागि आवेदन दिन सक्नेछन् । इकाई बाँडफाँटपछि योजना नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनेछ । त्यसपछि लगानीकर्ताले दोस्रो बजारमा समेत यसको कारोबार गर्न सक्नेछन् ।
सिटिजन्स क्यापिटलले यसअघि व्यवस्थापन गरेका सिटिजन्स म्युचुअल फन्ड–१ र सिटिजन्स म्युचुअल फन्ड–२ बाट क्रमशः औसत वार्षिक १२ प्रतिशत र १०.४० प्रतिशत प्रतिफल दिएको जनाएको छ । विगतको व्यवस्थापन अनुभव, लगानी अनुशासन र इकाईधनीको हित संरक्षणलाई प्राथमिकतामा राख्दै नयाँ योजना सञ्चालन गर्न लागेको क्यापिटलले जनाएको छ ।




