माउण्टेन हाइड्रोको आईपीओ ६५ प्रतिशत विक्री | आवेदनको म्याद भोलि सोमवारसम्म
काठमाडौं । माउण्टेन हाइड्रोले निष्कासन गरेको प्राथमिक शेयर करिब ६५ प्रतिशत विक्री भएको छ । १५ हजार ६ सय ४० सर्वसाधारणले ३ दिनमा ११ लाख ७२ हजार कित्ताका लागि ११ करोड ७२ लाख रुपैयाँबराबरको शेयर खरिद गर्न आवेदन दिएका छन् जुन निष्कासनको ६४.५३ प्रतिशत हो ।
पहिलो दिन २३ प्रतिशत शेयर विक्री भएको थियो । अनलाइनमार्फत आवेदन दिन सकिने भएकाले आवेदक थप बढ्न सक्ने विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका चिफ अपरेटर अफिसर सन्दीप कार्कीले जानकारी दिए ।
सर्वसाधारणले न्यूनतम ५० कित्ता र अधिकतम ८० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । निष्कासित शेयरमा सर्वसाधारणले पहिलो चरणमा भोलि सोमवार कार्यालय समयसम्म आवेदन गर्न सक्ने कार्कीले बताए ।
पहिलो चरणमा मागबमोजिम आवेदन नपरे ढिलोमा चैत २२ गतेसम्म सर्वसाधारणले आवेदन गर्न सक्नेछन् । कम्पनीले बिहीवारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन गरेको हो । प्रभावित क्षेत्रमा विक्री नभएको र सामूहिक लगानी कोषले समेत खरिद नगरेका शेयरसहित १८ लाख १६ हजार ११० कित्ता शेयर सर्वसाधारणका लागि विक्री खुला गरेको हो ।
कुल निष्कासनमा प्रभावित क्षेत्रका स्थानीयले खरिद नगरेको ५ लाख ६६ हजार ११० कित्ता र सामूहिक लगानी कोषले नलिएको ५० हजार ८ सय ५ कित्ता शेयर समायोजित छ । आवेदनका लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्था साथै मेरो शेयरको खाता खोलेकाले अनलाइन आवेदन दिन सक्नेछन् ।

