नेपाल–भारत सम्बन्धका बदलिँदा आयामबारे नाइस नेपाल र सी.पी.एस बीच छलफल
काठमाडौं । नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एन्ड इन्गेजमेन्ट र सेन्टर फर पिस स्टडिज को संयुक्त आयोजनामा ‘नेपाल–भारत सम्बन्धका बदलिँदा आयाम’ विषयक छलफल कार्यक्रम १६ नोभेम्बर २०२६ मा ललितपुरको हात्तीवनस्थित नाइस नेपालको सेमिनार हलमा सम्पन्न भयो। कार्यक्रममा नेपाल–भारत सम्बन्धको विकसित हुँदै गएको स्वरूप तथा क्षेत्रीय र रणनीतिक परिदृश्यमा आइरहेका परिवर्तनहरूबारे विज्ञ तथा सरोकारवालाहरूबीच विचारविमर्श गरिएको थियो।
कार्यक्रममा सी.पी.एसका अध्यक्ष डा. अशोक के. बेहुरिया, सी.पी.एसका आजीवन सदस्य तथा दिल्ली विश्वविद्यालयका डा. निहार नायक, प्रविधि उद्यमी सिक्सित भट्ट र नाइस नेपालका कार्यक्रम संयोजक तथा अनुसन्धान सहायक विवेक धोज थापा वक्ताका रूपमा सहभागी थिए।
सी.पी.एसका अध्यक्ष डा. अशोक के. बेहुरियाले नेपाल–भारत सम्बन्धलाई राज्यकेन्द्रित तथा सुरक्षामुखी दृष्टिकोणबाट मात्र हेर्ने परम्पराभन्दा माथि उठेर जनतालाई द्विपक्षीय सम्बन्धका प्रमुख सरोकारवालाका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिनुभयो। भारतको विदेश नीतिको ऐतिहासिक विकासक्रमको चर्चा गर्दै उहाँले औपनिवेशिक विरासतले द्विपक्षीय सम्बन्धमा पारेको प्रभाव र त्यसबाट क्रमशः बाहिर निस्कँदै छिमेकी मुलुकप्रति बढी समावेशी दृष्टिकोण अपनाउने प्रक्रियाबारे प्रकाश पार्नुभयो। विशेषगरी गुजराल सिद्धान्तले अघि सारेको प्रतिफलको अपेक्षाविनाको सहयोगको अवधारणालाई उहाँले उल्लेख गर्नुभयो। साथै, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको बदलिँदो दृष्टिकोणबारे चर्चा गर्दै क्षेत्रीय स्थायित्व र विकास छिमेकी मुलुकहरूसँगको पारस्परिक हितमा आधारित सम्बन्धमा निर्भर रहने मान्यताको महत्त्व बढ्दै गएको बताउनुभयो।
त्यसैगरी, सी.पी.एसका आजीवन सदस्य तथा दिल्ली विश्वविद्यालयका डा. निहार नायकले नेपालका प्रधानमन्त्रीको अपेक्षित भारत भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो। उहाँले विकास, पूर्वाधार, डिजिटल कनेक्टिभिटी तथा विपद् व्यवस्थापनका क्षेत्रमा सहकार्यका अवसरहरू औँल्याउनुभयो। साथै, सीमा विवाद, गोर्खा भर्ती, पञ्चेश्वर परियोजना, हवाई सम्पर्क तथा गैरभन्सार अवरोधजस्ता लामो समयदेखि कायम चुनौतीहरूबारे पनि चर्चा गर्नुभयो। उक्त भ्रमणले नेपाललाई आफ्ना विकास प्राथमिकताहरू भारतसमक्ष स्पष्ट रूपमा प्रस्तुत गर्ने तथा आपसी विश्वास र सहकार्य अभिवृद्धि गर्ने अवसर प्रदान गर्न सक्ने उहाँको भनाइ थियो। यसले दुवै देशका लागि लाभदायक अवस्था सिर्जना गर्न सक्ने उहाँले उल्लेख गर्नुभयो।
प्रविधि उद्यमी सिक्सित भट्टले अन्तर्राष्ट्रिय सम्बन्ध, सार्वभौमिकता र सुरक्षालाई आकार दिन प्रविधिको महत्त्व बढ्दै गएको बताउनुभयो। सेमिकन्डक्टर आपूर्ति शृङ्खला तथा आर्टिफिसियल इन्टेलिजेन्स लगायतका महत्त्वपूर्ण प्रविधिगत पूर्वाधारमाथि सीमित नियन्त्रण भएकाले नेपाल र भारत दुवै जोखिमको अवस्थामा रहेको उहाँको धारणा थियो। उहाँले विशेषगरी कृत्रिम बौद्धिकता, साइबर सुरक्षा तथा डिजिटल पूर्वाधारजस्ता क्षेत्रमा सहकार्य बढाउनुपर्नेमा जोड दिनुभयो। यी क्षेत्रहरू कूटनीति र सुरक्षासम्बन्धी चासोका नयाँ आयामका रूपमा विकसित भइरहेकाले नेपाल र भारतबीचको सम्बन्ध केवल प्रविधि प्राप्त गर्ने वा प्रयोग गर्ने तहमा सीमित नराखी संयुक्त रूपमा प्रविधिको विकास गर्ने सहकार्यमा रूपान्तरण हुनुपर्ने उहाँले सुझाव दिनुभयो।
नाइस नेपालका कार्यक्रम संयोजक तथा अनुसन्धान सहायक विवेक ध्वज थापाले नेपाल र भारत दुवै देशको कुल जनसङ्ख्याको करिब ५०–६० प्रतिशत हिस्सा युवाहरूले ओगटेको उल्लेख गर्दै युवाहरूको सहभागिताविना द्विपक्षीय सम्बन्ध अगाडि बढ्न नसक्ने बताउनुभयो। उहाँले सम्बन्धको भविष्य निर्माणमा युवाहरूको विचार र आवाजलाई महत्त्व दिनुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार, नेपालका वर्तमान युवाहरूले आफ्ना अघिल्ला पुस्ताले अनुभव गरेको शीतयुद्धकालीन मनोवैज्ञानिक त्रास र त्यससँग जोडिएको दृष्टिकोण बोकेका छैनन्। बरु उनीहरू कुनै पनि प्रकारको भूराजनीतिक प्रतिस्पर्धा वा शक्ति संघर्षमा नअल्झिई आफ्नो देशको विकास भएको हेर्न चाहन्छन्।
कार्यक्रमको अन्त्यमा नाइस नेपाल र सी.पी.एस बीच आपसी आदानप्रदान तथा सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर गरियो।




