रानीपोखरीको पुनर्निर्माण उपभोक्ता समितिमार्फत भयो शुरू | ४० जना कालिगढ काममा खटिए
काठमाडौं । ऐतिहासिक धरोहर रानीपोखरीको पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण कार्य शुरू गरेको छ । प्राधिकरणले उपभोक्ता समितिमार्फत ४० जना कालिगढका साथ रानीपोखरीको पुनर्निर्माण कार्य थालेको हो ।
रानीपोखरी परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर प्रताप मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण हुने बताइएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परम्परागत शैलीमै पुनर्निर्माण हुने रानीपोखरीको पुनर्निर्माण कार्यमा सबैको सहयोग र साथ रहने विश्वास व्यक्त गरे । रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले प्राधिकरणले निर्धारण गरेको मापदण्डअनुसार विशेष ध्यान दिएर रानोपोखरीको पुनर्निर्माण गगरिने बताए ।
समितिका अध्यक्ष स्थापितले आवश्यकताअनुसार कालिगढहरूको संख्या बढाउने बताए । काठमाडौं महानगरपाललिका– १ का अध्यक्ष भरतलाल श्रेष्ठले रानीपोखरीको पुनर्निर्माणका लागि वडाले आवश्यक सबै सहयोग गर्ने बताए । प्राधिकरणले रानीपोखरीलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरूको व्यवस्थित तथा समन्वयात्मक ढंगले पुनर्निर्माण गर्न प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा रानीपोखरी पुनर्निर्माण अनुगमन तथा समन्वय समिति गठन गरेको छ ।
रानीपोखरीको पिँध एवम् पर्खाल निर्माण उपभोक्ता समितिमार्फत र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण तथा सौन्दर्यकरण कार्य निर्माण व्यवसायीमार्फत गराउने बताइएको छ । मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको पुनर्निर्माण गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जिम्मेवारी दिएको थियो ।



