पोखरामा मंसिर २६ गते ‘माछापुच्छ्रे दौड २०२६’ आयोजना हुने
काठमाडौं । पोखरामा आगामी मंसिर २६ गते ‘माछापुच्छ्रे दौड २०२६’ आयोजना हुने भएको छ। माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा हुने प्रतियोगिता हिमालयन ट्रेल रनिङसँगको सहकार्यमा सञ्चालन गर्न लागिएको हो।
नेपालको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बैंकले जनाएको छ। प्रतियोगितामार्फत स्वस्थ जीवनशैली र नियमित शारीरिक व्यायामको महत्त्वबारे जनचेतना बढाउनुका साथै पोखराको साहसिक पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ।
प्रतियोगितामा सहभागीले आफ्नो क्षमता र रुचिअनुसार ५ किलोमिटर, १२ किलोमिटर (कर्पोरेट विधा), २१ किलोमिटर र ४२ किलोमिटर गरी चार विधामा प्रतिस्पर्धा गर्न सक्नेछन्।
इच्छुक धावकले आयोजकको आधिकारिक वेबसाइट https://himalayantrailrunning.com/events/machhapuchhre-daud-2026/register?category=5f60eac9-5fb2-4232-8080-63585df069d0 मार्फत आफूलाई उपयुक्त विधा छनोट गरी अनलाइन दर्ता गर्न सक्नेछन्। प्रतियोगिताको दर्ता तथा अन्य विवरण हिमालयन ट्रेल रनिङको वेबसाइटमा उपलब्ध गराइएको छ।
बढ्दो व्यस्त जीवनशैली र शारीरिक निष्क्रियताबीच नियमित व्यायाम तथा खेलकुदको महत्त्व बढ्दै गएको भन्दै बैंकले स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगितामा सहकार्य गरेको जनाएको छ।




