अमेरिकाले नेपाललाई दिने भनिएको ‘स्काई ट्रक’ अब आउने निश्चित | पहिलो चरणमा दुई विमान खरिदका लागि १ करोड ८० लाख डलरमा गर्यो सम्झौता
काठमाडौं । अमेरिकाले नेपाललाई चारवटा ‘स्काई ट्रक’ दिने भएभएको छ । ‘स्काई ट्रक’ दिने घोषणा गरेको तीन वर्षपछि बल्ल अमेरिकी रक्षा मन्त्रालयले दुई विमान खरिद प्रक्रिया अगाडि बढाएको छ । दुई विमानको खरिदका लागि अमेरिकाले १ करोड ८० लाख डलरको वैदेशिक सैन्य विक्री (एफएमएस) सम्झौता गरेको बताइएको छ ।
अमेरिकी सेनाले २०७२ वैशाखको महाभूकम्पपछि ‘फरेन मिलिट्री एड’ अन्तर्गत नेपाली सेनालाई ‘स्काई ट्रक’ दिने घोषणा गरेको थियो ।नेपाललाई उक्त सहयोग दिनका लागि गत शुक्रवार अमेरिकी रक्षा मन्त्रालयले पोल्याण्डको पोलस्की ज्याकलेडी लोट्निच्ज (पीजेडएल मियलेक) सँग दुई नयाँ एम २८ स्काई ट्रक विमानको लागि खरिद सम्झौता गरेको छ ।
अमेरिका दुई चरणमा गरेर नेपाललाई ४ वटा विमान पठाउने तयारीमा छ । सम्झौताअन्तर्गत व्यावसायिक रूपमा निर्मित दुई नयाँ एम२८ ब्लक ०५ विमान कम्पनीले अमेरिकालाई उपलब्ध गराउनेछ । विमानसँगै मर्मत–सम्भार तालिम, प्राविधिक प्रकाशन र जनशक्ति कम्पनीले नेपालमा पठाउनेछ ।
सम्झौताबमोजिम कम्पनीले २० डिसेम्बरसम्म विमानहरू अमेरिकी रक्षा मन्त्रालयलाई उपलब्ध गराइसक्नेछ । तर कहिलेसम्ममा ती विमान नेपाल आइपुग्छन् भनेर यकिन गर्न नसकिने नेपाली सेनाका प्रवक्ता तथा रथी यामप्रसाद ढकाल बताउँछन् । स्काई ट्रक यातायात र पैदलबाट समेत कठिन स्थानमा अत्यावश्यक वस्तु ढुवानी गर्न प्रयोग गरिन्छ ।
Visited 1 times, 1 visit(s) today


