फेसबुकट्वीटर बन्द नहुने | गलत सूचना प्रवाह गर्नेविरुद्ध कारबाही प्रक्रिया शुरू भइसक्यो : मन्त्रालय
काठमाडौं । पछिल्लो समय विभिन्न सामाजिक सञ्जालमा सरकारले फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल बन्द गर्ने हल्ला व्यापक रूपमा छाउन थालेपछि अधिकांश नेपाली फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल प्रयोगकर्ताहरू चिन्ताग्रस्त बनेका थिए । तर, अब ढुक्क हुनुस्, सरकारले यस्ता सामाजिक सञ्जाल बन्द गर्ने निर्णय नगरेको प्रष्ट पारेको छ । साथै सरकारले फेसबुक तथा ट्वीटरलगायतका समाजिक सञ्जाल बन्द गरिने भन्ने हल्लाको खण्डनसमेत गरेको छ ।
आज आइतवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिमा यस्ता विभिन्न सामाजिक सञ्जाल बन्द गर्ने कुनै निर्णय नगरिएको प्रष्ट पारेको छ । बरू उल्टो विभिन्न सामाजिक सञ्जालमै नेपाल सरकार, सञ्चार तथा सूचना मन्त्रालय, सूचना विभागको नाम राखी यस्ता सामाजिक सञजल बन्द गर्न लागिएको भ्रामक सूचना फेसबुकलगायत सामाजिक सञ्जालमा पोस्ट गर्नेलाई सरकारले कारबाही गर्ने बताएको छ ।
केही दिनयता विभिन्न समाजिक सञ्जालमा सरकारले फेसबुक तथा ट्वीटर बन्द गर्न लागेको भन्दै हल्ला चलाइएको थियो । यस्तो हल्ला चलाउनेलाई कारबाहीको प्रक्रिया अगाडि बढाइसकिएको समेत मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभागको नाम राखी फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल पूर्ण रूपमा बन्द गरिनेजस्ता भ्रामक सूचना सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पोष्ट गरी भ्रम फैलाउन टिप्पणीसमेत गरेको सम्बन्धमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’
विज्ञप्तिमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतबाट कुनै पनि निकायले सामाजिक सञ्जाल बन्द गर्नेसम्बन्धी सूचना प्रकाशित नभएको र त्यस्तो गलत सूचना प्रवाह गर्ने व्यक्तिउपर कानूनी कारबाही गर्न प्रक्रियासमेत शुरू भइसकेको छ, त्यस्तो भ्रामक सूचना सामाजिक सञ्जालबाट हटाउन सञ्चालकलाई अनुरोध गरिसकिएको छ । साथै यस प्रकारको गलत र भ्रामक सूचनामा पोस्ट, रिपोस्ट, लाइक गरेको भए हटाउन पनि अनुरोध गरिएको छ ।
Visited 5 times, 1 visit(s) today


