मध्यमर्स्याङ्दी–दमौली–मर्स्याङ्दी प्रसारण लाइन सञ्चालनमा |
काठमाडौं । मध्यमर्स्याङ्दी–दमौली–मर्स्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । २२ किलोमिटर लम्बाइ रहेको उक्त प्रसारण लाइन नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरी गत सोमवारबाट सञ्चालनमा ल्याएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो प्रसारण लाइन सञ्चालनमा आएपछि समग्र प्रसारण प्रणालीको चुहावट घट्ने र प्रणालीको विश्वसनीयता बढ्ने जानकारी दिए । उनले भने, ‘मध्यमर्स्याङ्दी–मर्स्याङ्दी प्रसारण लाइन ओभरलोड हुँदा लमजुङस्थित निजीक्षेत्रका जलविद्युत आयोजनाबाट वर्षामा उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न नसकी खेर जाने सम्भावना थियो, अब यो लाइनको सञ्चालनसँगै त्यस्तो विद्युत खेर जाने सम्भावनाको अन्त्य भएको छ ।’
उनका अनुसार मर्स्याङ्दी–काठमाडौं र मर्स्याङ्दी–भरतपुर प्रसारण लाइनमा फल्ट आउँदा प्राधिकरणका मध्यमर्स्याङ्दी, मर्स्याङ्दीसहित निजीक्षेत्रका आयोजनाको विद्युत प्रवाह गर्न नसक्ने अवस्था थियो, अब यो पनि अवस्थाको पनि अन्त्य भएको छ ।
निजीक्षेत्रले लमजुङमा निर्माण गरेका आयोजनाको करिब ६६ मेगावाट विद्युत र प्राधिकरणको स्वामित्वमा रहेका मध्यमर्स्याङ्दी ७० मेगावाट तथा तल्लो मर्स्याङ्दी ६९ मेगावाट गरी २०५ मेगावाट विद्युत् मध्यमर्स्याङ्दी–मर्स्याङ्दी प्रसारण लाइन हुँदै काठमाडौं र चितवनको भरतपुरतर्फ प्रवाह गरिँदै आएको छ । यो लाइन सञ्चालनमा आएसँगै अब ती केन्द्रबाट उत्पादित विद्युत्लाई पोखरा र भरतपुरतर्फ पठाउन सहज भएको आयोजना प्रमुख शुभारम्भ विक्रम शाहले बताए ।
उनका अनुसार यही आयोजनाअन्तर्गत तनहुँको मार्कीचोकमा निर्माण भइरहेको १३२३३ केभी सबस्टेसन केही दिनमै सञ्चालनमा आउँदैछ । मस्र्याङदी, दमौली र मध्यमर्स्याङ्दी सबस्टेसनमा बे पनि थपिएको छ । यसले लमजुङको दोर्दी करिडोरमा निजीक्षेत्रले निर्माण गरिरहेका आयोजनाको विद्युत पनि राष्ट्रिय प्रणालीमा जोड्न सकिनेछ ।ब



