हामी तत्काल प्याकेजिङ गरेर दूध विक्री गर्न सक्दैनौं : दुग्ध व्यवसायीहरू | निर्देशिकामा तत्काल संशोधन नगरिए आन्दोलन गर्ने चेतावनी
विराटनगर । सरकारले आगामी चैत ४ गतेदेखि लागू गर्न लागेको भनिएको दुग्ध पदार्थको स्वच्छता एवम् गुणस्तर निर्दे्शिकाविरुद्ध मोरङका डेरी व्यवसायी आन्दोलित भएका छन् । उक्त निर्देशिकामा भनिएबमोजिमको प्याकेजिङ गरेर तत्काल दूध विक्री गर्न नसकिने हुँदा खुल्ला रूपमा बेच्न पाउनुपर्ने माग गर्दै दुग्ध व्यवसायीहरू आन्दोलित भएका हुन् ।
सरकारबाट गत माघ महिनामा प्रकाशित र वितरित निर्देशिकामा आगामी चैत ४ गतेदेखि कुनै दूध प्याकेजिङ गरेर मात्र विक्री गर्नुपर्ने उल्लेख छ । तर, डेरी व्यवसायीहरूले भने सरकारले भनेजस्तो तत्काल प्याकेजिङ गरेर दूध विक्री गर्न नसकिने भन्दै त्यस्तो व्यवस्था नहटाए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
डेरी व्यवसायी संघ विराटनगरका अध्यक्ष मनोज भुजेलले उक्त व्यवस्था सरकारले खारेज नगरे हामी आन्दोलन गर्छौं । उनले भने, ‘निजीक्षेत्रका डेरी व्यवसायीले सानो लगानी गरेर आफ्नो कारोबार सञ्चालन गरिरहेका छन् । त्यसैले सरकारले भनेजस्तो तत्काल प्याकेजिङ गरेर दूध विक्री गर्न सक्ने अवस्थामा हामी छैनौं र व्यवसाय बन्द गर्न पनि सक्तैनौं, ठूला डेरीको स्वार्थ र आग्रहमा सरकारले सानो स्तरको व्यवसायलाई धराशयी बनाउन यो नियम लादेको हो । हामी डेरी बन्द नगरी, खुल्लमखुल्ला दूध विक्री गरेर निर्देशकाविरुद्ध आन्दोलन गर्छौं ।’ उनले सरकारले उक्त निर्देशिका तत्काल संशोधन गरी साना व्यवसायीलाई सहज वातावरण बनाइदिन आग्रहसमेत गरे ।
संघका सदस्य कुलप्रसाद रेग्मीका अनुसार विराटनगर महानगरमा मात्र दैनिक ८० हजार लिटर दूध खपत हुन्छ । जसमध्ये ७० प्रतिशत दूध निजी डेरीले आपूर्ति गरिरहेका छन् । उनले विराटनगरमा मात्र २ सय ४५ वटा डेरी पसल रहेको जानकारी दिए ।



