भारतीय लडाकू विमान काश्मिरमा दुर्घटनाग्रस्त, दुवै पाइलटको मृत्यु भएको आशंका |

काठमाडौं । भारतीय वायु सेनाको एउटा लडाकू विमान काश्मिरमा दुर्घटना भएको छ । श्रीनगर विमानस्थलबाट उडान गरेको मिग २१ विमान काश्मिरको कलान गाउँमा खसेको भारतीय सञ्चारमाध्यमले बताएका छन् । दुर्घटना हुँदा उक्त विमान पूर्ण रूपमा ध्वस्त भएको बताइएको छ । अहिले श्रीनगर विमानस्थलबाट उडान र अवतरण बन्द गरिएको छ ।
उक्त लडाकू विमान दुर्घटनामा पाइलटको मृत्यु भएको छ । अर्का पाइलटको पनि मृत्यु भएको आशंका गरिएको छ । भारतीय सञ्चारमाध्यमले स्थानीय बासिन्दालाई उद्धृत गर्दै उक्त विमान उडानलगत्तै ठूलो आवाजसहित पड्किएर खेतमा खसेको उल्लेख गरेका छन् ।
भारतीय सञ्चारमाध्यमले स्थानीय बासिन्दालाई उद्धृत गर्दै लेखेको छ, ‘भारतीय वायु सेनाको लडाकू विमानले पाकिस्तानी क्षेत्रमा पसेर बम विष्फोट गराएको भोलिपल्ट यो घटना भएको हो । पछिल्ला २० दिनमा भारतमा पाँचवटा विमान दुर्घटना भएका छन् ।’