‘पूर्वस्वीकृतिबिना उपहार नबाँड्नुस्’ | बीमा कम्पनीहरूले नियमित कमिशन भने दिन पाउने
काठमाडौं । बीमा कम्पनीहरूको नियमनकारी निकाय बीमा समितिले बीमा कम्पनीहरूलाई बिनास्वीकृति उपहार वितरण गर्न अंकुश लगाएको छ । बीमा कम्पनीहरूले विशेष गरी अभिकर्ताहरूलाई नगद तथा जिन्सी उपहार जथाभावी विक्री–वितरण गरेको गुनासो बढेपछि समितिले पूर्वस्वीकृति लिएर मात्रै उपहार वितरण गर्न निर्देशन दिएको हो ।
जथाभावी उपहार बाँड्दा बीमा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढेको र बीमा बजारलाई नै नकारात्मक असर पार्ने भएपछि पूर्वस्वीकृति लिएर मात्रै उपहार वितरण गर्न निर्देशन जारी गरिएको बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।
उनले भने, ‘बीमा कम्पनीहरूले प्रोत्साहनस्वरूप नगद रुपैयाँ तथा जिन्सी उपहार दिने गरेका छन्, यसले बीमा बजारलाई राम्रो नगर्ने भएकाले नियन्त्रण गर्न पूर्वस्वीकृति लिने व्यवस्था गरिएको हो ।’ उनले बीमा कम्पनीहरूले नियमित कमिशन भने दिन पाउने बताए ।



