जनताको जलविद्युत् आयोजनाको उद्घाटन, रू. ७ खर्बका आयोजनाको घोषणा | जनताको मात्रै लगानी रू. १ खर्ब, ३५ दिनभित्र लगानीको प्रक्रिया शुरू हुने
काठमाडौं । ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ भन्ने नाराका साथ शुरू गरिएको ‘जनताको जलविद्युत् आयोजना कार्यक्रम’को शुभारम्भ भएको छ । सरकारले ल्याएको कुल रू. ७ खर्ब लागत र १९ वटा आयोजना रहेको उक्त कार्यक्रमको उद्घाटन आज बिहीवार प्रधानमन्त्री केपी शर्मा वलीले गरेका हुन् ।
बजेटमार्फत् प्रस्तुत कार्यक्रमलाई कार्य रूप दिने क्रममा कार्यक्रमको शुभारम्भ गरिएको ऊर्जामन्त्री वर्षमान पुनले बताए । उनले भने, ‘समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना पूरा गर्न हरेक नेपाली जनताको सहभागिता हुनेछ । यस कार्यक्रमले सबै नेपालीलाई विद्युतको शेयरधनी बनाउनेछ ।’
यस कार्यक्रममार्फत् ५ वर्षभित्र १९ आयोजनाबाट ३४७९ मेगावट विद्युत पहिचान गरी निर्माणमा जानेछन् । यी आयोजनामा ६ खर्ब ९५ अर्ब ८० करोड लगानी हुनेछ, जसमा ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपूँजी शेयर लगानी हुनेछ । यस्ता आयोजनामा ५१ प्रतिशत सरकार र यसका निकाय तथा ४९ प्रतिशत जनताको लगानी हुने बताइएको छ ।
नागरिकबाट रू. १ खर्ब बराबरको लगानी जुटाउने लक्ष्य तय गरिएको उक्त कार्यक्रमका आयोजनामा लगानी गर्ने नागरिकलाई १७ प्रतिशतसम्म प्रतिफल दिने लक्ष्य राखिएको छ । शेयर रकमको रूपमा खरीद गर्न प्रतिबद्धता व्यक्त गर्नेले शुरूमा १० प्रतिशतबराबरको रकम लगानी गर्नुपर्नेछ । यस्तै, आयोजना निर्माणको न्यूनतम ७५ प्रतिशत भौतिक प्रगति हासिल भएपछि बाँकी रहेको ९० प्रतिशत रकम उपलब्ध गराए हुने व्यवस्थासमेत गरिएको ऊर्जामन्त्री पुनले जानकारी दिए ।
यो कार्यक्रममार्फत निर्माण हुने हरेक कम्पनीको छुट्टाछुट्टै शेयर निष्कासन र आवेदन हुनेछ । सो कार्यक्रममा सहभागी हुनका लागि आवेदकलाई हितग्राही खाता र बैंक खाता भने अनिवार्य गरिएको छ । आगामी ३५ दिनभित्र त्यसको प्रक्रिया शुरू हुने मन्त्रालयले जानकारी दिएको छ । सरकारले नागरिकबाट लिने रकमको ब्याज बैंक तथा वित्तीय संस्थासरह दिने प्रतिबद्धता जनाएको छ ।
सरकारले प्रदेश नं १ का लागि किमाथाङ्का अरुण ४८२ मेगावाट, माथिल्लो अरुण ७२५ मेगावाट, इखुवा ३० मेगावाट, अरुण चार ३७२ मेगावाट, घुन्सा खोला ७२ मेगावाट र सिम्बुवा खोला ७० मेगावाट गरी कूल ६ आयोजनाबाट १ हजार ७ सय ५१ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।
त्यस्तै, प्रदेश नं ३ का लागि तामाकोशी पाँचौं ९६ मेगावाट र त्रिशूली थ्रीबी ३७ मेगावाट गरी कुल १३३ मेगावाट विद्युत् जनताको लगानीमा निर्माण गरिने भएको छ ।
गण्डकी प्रदेशका लागि बुढीगण्डकी ग्वारखोला ६० मेगावाट, बुढीगण्डकी प्रोक एक १०० मेगावाट, बुढीगण्डकी प्रोक दुई २४० मेगावाट र बुढीगण्डकी क ७५ मेगावाट गरी कूल ४७४ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
प्रदेश नं ५ मा भने भेरी बबई डाइभर्सन आयोजना ४८ मेगावाट क्षमताको निर्माण गरिनेछ ।
कर्णाली प्रदेशका लागि फुकोट कर्णाली ४९२ मेगावाट, जगदुल्ला एक ९२ मेगावाट र जगदुल्ला दुई ६५ मेगावाट गरी कुल ६४९ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
सुदूरपश्चिम प्रदेशका लागि चैनपुर सेती २१० मेगावाट, सेती नदी तेस्रो १६३ र माथिल्लो सेती ५० मेगावाट गरी कुल ४२३ मेगावाट विद्युत् उत्पादन गरिने लक्ष्य राखिएको छ ।
प्रतिमेगावाट रू. २० करोड रहने अनुमान गरिएका ती आयोजनामा कर्मचारी सञ्चयकोषले सात वर्षसम्म प्रतिवर्ष रू. ५ अर्बको दरले रू. ३५ अर्ब, नागरिक लगानी कोषले प्रतिवर्ष रू. ६ अर्बका दरले रू. ४२ अर्ब, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले प्रतिवर्ष रू. ५ अर्बका दरले ७ वर्षसम्म रू. ३५ अर्ब लगानी गर्नेछन् ।
त्यसैगरी, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले रू. २१ अर्ब, राष्ट्रिय बीमा संस्थानले प्रतिवर्ष रू. २ अर्बका दरले रू. १४ अर्ब लगानी गर्ने लक्ष्य तय गरिएको छ ।
नेपाली सेनाको सैनिक कल्याणकारी कोषले रू. ७ अर्ब, नेपाल प्रहरीले रू. ७ अर्ब, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले समान रूपमा रू. ७÷७ अर्ब र सरकारले प्रतिवर्ष रू. ६ अर्बका दरले रू. ४२ अर्ब लगानी गर्ने तय भएको छ । यस्तै, स्थानीयस्तरबाट ऋण उठाएर रू. २१ अर्ब र अन्य स्रोतबाट समेत लगानी जुटाइने बताइएको छ ।
Visited 1 times, 1 visit(s) today


