एनसेलसँग ६४ अर्ब लाभकर असुल्न सर्वोच्चको आदेश |
काठमाडौं । सर्वोच्च अदालतले एनसेलसँग लाभकर असुल्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको पूर्ण इजलासले त्यस्तो आदेश दिएको सर्वोच्च अदालतका सूचना अधिकारी नगेन्द्र कालाखेतीले जानकारी दिएका हुन् ।
एनसेलको शेयर स्वामित्व खरिद विक्रीबापतको पूँजीगत लाभकर असुल्न सर्वोच्चले आदेश दिएको हो । सोबापत एनसेलले अब ६४ अर्ब रुपैयाँ पूँजीगत लाभकर तिर्नुपर्छ ।
एनसेलको ८० प्रतिशत शेयर टेलियासोनेरा कम्पनीबाट मलेशियन आजियटा कम्पनीले खरिद गरेको थियो । सो खरिदविक्रीबापतको पूँजीगत लाभकर असुल्न सर्वोच्चले आदेश दिएको हो । उक्त कम्पनीले ७२ अर्ब मुनाफामध्ये ४० अर्ब रुपैयाँ लगिसकेको छ भने ३२ अर्ब अझै नेपालमै रहेको छ । कर असुली प्रक्रियाका लागि ठूला करदाता कार्यालयले एनसेलको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) गरिरहेको छ ।
यसअघि सर्वोच्चकै अन्तरिम आदेशका आधारमा एनसेललाई १२ अर्ब ५४ करोड लाभांश लैजाने अनुमति दिइएको थियो । कामु गभर्नरको जिम्मेवारी रहेका चिन्तामणि शिवकोटीले त्यस्तो अनुमति दिएका थिए ।



