आईएसले कब्जा गरेको भूभाग फिर्ताको घोषणा छिट्टै हुन्छ : ट्रम्प |

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट (आईएस) ले कब्जा गरेको सिरिया र इराकको भूमि फिर्ताको घोषणा छिट्टै हुने दाबी गरेका छन् । उनले सिरियाका जिहादीहरू परास्त भएको दाबी गर्दै अमेरिकी सेना त्यहाँबाट फिर्ता गर्ने घोषणा गरेका थिए । जसको अमेरिकामा विरोध भएको थियो ।
ट्रम्पले आईएसले कब्जामा लिएको थोरै भूभाग मात्र नियन्त्रणमा आउन बाँकी रहेको र ती भूभाग पनि छिट्टै नै अमेरिकी गठबन्धन सेनाको नियन्त्रणमा आउने दाबी गरेका छन् ।
बीबीसीका अनुसार, वासिङ्टनमा आयोजित अमेरिकी नेतृत्वको गठबन्धन सदस्यहरूको बैठकमा ट्रम्पले भने, ‘अर्को सातासम्म आईएसको प्रभुत्व रहेको क्षेत्रको शतप्रतिशत भूभाग नियन्त्रणमा आएको घोषणा हुनेछ’, गठनबन्धन बैठकमा ट्रम्पले राखेको भनाइ उद्धृत गर्दै बीबीसले लेखेको छ ।
आईएसको पकडमा रहेको क्षेत्रलाई नियन्त्रणमा लिन अमेरिकी नेतृत्वको सेना सन् २०१४ देखि त्यहाँ लडिरहेको छ । बीबीसीका अनुसार, आईएसले सिरियाको रक्कासँगै इराकको मोसुलमा रहेको प्रभाव गुमाइसकेको छ । यद्यपि, उत्तर–पूर्वी सिरियामा भने अझै पनि लडाइँ भइरहेको छ ।