ब्याजदर नघटेपछि उद्योगी व्यवसायी आन्दोलनमा | उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले विरोधका कार्यक्रम गरे सार्वजनिक
काठमाडौं । बैंकहरूले ऋणको ब्याजदर नघटाएपछि निजीक्षेत्रका उद्योगी–व्यवसायी त्यसको विरोध गर्दै ब्याजदरलाई ८ प्रतिशतमा कायम गर्ने माग राखेर सडकमै उत्रिएका छन् । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, उद्योग संगठन रुपन्देही, सिद्धार्थनगर, भैरहवालगात संस्थाहरू बैंकहरूको चर्को ब्याजले लागत बढेपछि उद्योग व्यवसाय चलाउनै गाह्रो भएको भन्दै निजीक्षेत्रका विभिन्न संघसंस्थाहरूले सडकमै उत्रेर विरोध गरेका हुन् ।
ब्याजदर वृद्धिको विरोधमा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रूपमा चरणबद्ध विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । ब्याजदर वृद्धि नियन्त्रण गरी लगानी प्रोत्साहन गर्ने खालको वातावरण बनाउन उनीहरूको माग छ । उनीहरूको आन्दोलनलाई नेपाल उद्योग वाणिज्य महासंघले पनि एक्यवद्धता जनाएको छ ।
बैंकहरूले निरन्तर रूपमा ब्याजदर बढाउँदा लगानी निरुत्साहित हुने र त्यसले मुलुकको आर्थिक वृद्धिमा नकारात्मक असर पर्ने भएकाले नियन्त्रण गर्नुपर्ने माग महासंघले गरेको छ । बैंकहरूले हाल औसतमा १४ प्रतिशतसम्म ब्याज लिँदै आएका छन् ।
विगत २ वर्षदेखि बैंक तथा वित्तीय संस्थाबाट एकतर्फी रूपमा ऋणको ब्याजदर अत्यधिक रूपमा वृद्धि गरिएका कारण उद्योग–व्यवसाय क्षेत्रको लागत मूल्य बढेको र बढ्दो लागतले व्यवसाय सञ्चालनमा कठिनाइ भोगिरहेको कुरा बारम्बार ध्यानाकर्षण गराउँदा पनि ब्याजदर वृद्धिलाई नियन्त्रण गरी समस्या समाधान गर्ने विषयमा कुनै प्रगति नभएकाले दबाबमा उत्रिनुपरेको महासंघले बताएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले भने, ‘ब्याजदरको विषयमा आजसम्म आन्दोल गर्नुपरेको मैले अनुभव गरेको छैन, उनीहरूको ध्याउन्न नाफा बढाउनमै केन्द्रित रहेपछि व्यवसायीहरू सडकमै आउन थालेका हुन् ।’
सरकारले नीति बनाए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा अहिलेको अवस्था आएको नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले बताए ।
चर्को ब्याजदर तत्काल नियन्त्रण हुनुपर्ने मागसहित मुलुकभरका उद्योग व्यवसाय क्षेत्र पनि आन्दोलित भइरहेको महासंघले बताएको छ । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले उठाएका सम्पूर्ण माग र आन्दोलनप्रति नेपाल उद्योग वाणिज्य महासंघले ऐक्यवद्धाता जनाउँदै ब्याजदरका विषयमा उद्योग–व्यवसाय क्षेत्रले बारम्बार उठाएका मागलाई तत्काल सम्बोधन गर्न विज्ञप्तिमार्फत जोड दिएको छ ।
Visited 1 times, 1 visit(s) today


