भ्रष्टाचार सूचकांकमा नेपाल १२४औं स्थानमा, जिते अरू दुई देशले |
काठमाडौं । नेपाल भ्रष्टाचारको सूचकांकमा गतवर्षकै स्थिति अर्थात् १२४औं स्थानमा रहेको पाइएको छ । नेपालले सुशासनमा देखिने गरी प्रगति हासिल नगरेकाले गतवर्षकै स्थानमा रहेको ट्रान्सपरेन्सी इण्टरनेशनल नेपालले आज मंगलवार ‘भ्रष्टाचार अवधारणा सूचकांक’ सार्वजनिक गर्दै बताएको हो ।
ट्रान्सपरेन्सी इण्टरनेशनलका अध्यक्ष खेमराज रेग्मीले भने, ‘गत वर्षजस्तै यस वर्ष पनि १०० पूर्णङ्कमा ३१ अंक ल्याएर नेपाल १८० मुलुकमध्ये १२४औं स्थानमा परेको हो ।’
उनले सुशासनमा सुधार नभएको बताउँदै भने, ‘गतवर्ष हामी ३१ अंक ल्याउँदै १२२औं स्थानमा रहेका थियौं, तर अहिले गतवर्षझैं ३१ अंक ल्याएर पनि हामीभन्दा अरू दुई देशले प्रगति गरेको हुनाले यस वर्ष १२४औं स्थानमा परेका छौं ।’
सबैभन्दा बढी भ्रष्टाचार राजनीति र कर्मचारीतन्त्रमा रहेको नेपालमा दुई तिहाइको सरकार आएपछि पनि भ्रष्टाचार नघटेको उनको भनाइ छ । उनले भने, ‘गतवर्षको तुलनामा यस वर्ष भ्रष्टाचारको अवधारणामा सुधार देखिएको छैन, त्यसैले नेपालको अवस्था चिन्ताजनक छ ।’
नेपालमा सरकारले भ्रष्टाचार नियन्त्रण गर्न बनेका निकायका पदाधिकारी र भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानून आफूअनुकूल बनाउने गरेकाले भ्रष्टाचारको सूचकांक ज्यूँका त्यूँ भएको अध्यक्ष रेग्मीले बताए । उक्त संस्थाले सार्वजनिक गरेको सूचकांकमा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा सोमलिया र कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क रहेका छन् ।
ट्रान्सपरेन्सी इण्टरनेशनलका महासचिव मुकुन्दबहादुर प्रधानले नेपालमा तीनै तहको निर्वाचनपछि सार्वजनिक क्षेत्रमा भ्रष्टाचार नघटेको बताए । ट्रान्सपरेन्सीसँग आबद्ध विभिन्न संघसंस्थाले गतवर्ष नेपालका विभिन्न क्षेत्रमा भएका कामको अध्ययनका आधारमा उक्त सूचकांक निकालेको हो । नेपाल सन् २०१६ मा १३१, २०१५ मा १३०, २०१४ मा १२६, २०१३ मा ११९ र २०१२ मा १३९औं स्थानमा परेको थियो ।
Visited 2 times, 1 visit(s) today


