सीआईजेको रिपोर्टप्रति सौरभ ग्रुपको आपत्ति |
काठमाडौं । सौरभ ग्रुपका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बुधवार खोज पत्रकारिता केन्द्र (खोपके) ले दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस (आईसीआईजे) को सहकार्यमा नेपाललिक्सका नाममा सार्वजनिक गरेको रिपोर्टप्रति आपत्ति जनाएका छन् । उनले आफ्ना कुनै पनि कम्पनीमा विदेशी लगानी नरहेको स्पष्टीकरण दिँदै उक्त रिपोर्टमा कपोलल्पित र असत्य कुरा समावेश गरिएको जिकिर गरेका छन् ।
हाल सिमेन्ट, स्टिल, धागो, चिया र इलेक्ट्रोनिक्स क्षेत्रमा लगानी गरेका न्यौपानेले हिजो शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर रिपोर्टमा उल्लेख गरिएजस्तो आफ्नो कम्पनी सौरभ ग्रुप कुनै किसिमका गुट्का, सुपारी र साबुनजस्ता उत्पादनसँग सम्बन्धित नरहेको प्रष्ट पारेका छन् ।
उनले ग्रुपअन्तर्गतको सर्वोत्तम सिमेण्टमा हङकङस्थित कृष्णा होल्डिङ्सको ३८ प्रतिशत लगानी विगतमा रहे पनि हाल उक्त कम्पनीले कानुनी रूपमा आफ्नो लगानी फिर्ता लगिसकेको जानकारी दिए । सो कम्पनीले सर्वोत्तम सिमेण्टमा रहेको सबै शेयर नेपालीलाई नै बेचेर फिर्ता गएको उनको भनाइ छ ।
साथै, सौरभ ग्रुपअन्तर्गत रहेको सौरभ इण्टरनेशनलको कर फछ्र्योटका विषयमा पनि कर कार्यालयले इण्ट्रीमै गलत भएकाले सो गल्ती स्वीकार गरेर हाल कर फछ्र्योट आयोगमार्फत सो विषय मिलिसकेको बताए । न्यौपानेले आफ्नो अर्को कम्पनी लक्ष्मी स्टिलले कुनै कर छुट नलिएको दाबी गरे । उनले लक्ष्मी स्टिल स्टिल उद्योगमध्येमै धेरै कर तिर्ने कम्पनी भएको र कर छुटको आवश्यकता नरहेको बताए ।
भक्तपुरस्थित १७ तले भवनमा विदेशी लगानी रहेको रिपोर्टमा उल्लेख भएको प्रति पनि न्यौपानेले आपत्ति जनाएका छन् । उनले उक्त भवनमा पनि कुनै किसिमको विदेशी लगानी नरहेको प्रष्ट पारे । सो भवनका लागि यसअघि नै ५ तलाका लागि नगरपालिकाबाट र पछाडिको १७ तलाको नगर विकासबाट आवासीय भवनको प्लानिंग परमिट लिइएको बताए । हाल आवासीय भवनको सट्टा होटल निर्माण गर्ने गरी भक्तपुर नगर विकास तथा ठिमी नगरपालिकामा आवेदन दिइएको र निर्णय हुने प्रक्रियामा रहेको उनले जानकारी दिए ।
न्यौपानेले आफूलाई लक्ष्मी सिमेण्ट, केपी सिमेण्ट, घोराही सिमेण्टसँग जोडेको भन्दै यी कम्पनीहरूसँग आफ्नो कुनै किसिमको व्यावसायिक सम्बन्ध नरहेको स्पष्ट पारे । उनले आफ्नो समूहले नेपालमा विभिन्न उद्योगमा १६ सय करोड आफ्नो र बैंकको सहित गरी ३६ सय करोडको लगानी गरेको र वार्षिक ३ हजार करोडको कारोबार हुने बताउँदै समूहमा आफ्नो पारिवारिक लगानी रहेको स्पष्ट पारे ।
उनले यो आफ्नो पारिवारिक व्यापार रहेको भन्दै आफ्नो परिवारको कुनै पनि सदस्य एनआरएन या अन्य कुनै विदेशीसँग सम्बन्ध नरहेको बताएका छन् । उनले सीआईजेको प्रकाशन गरेको रिपोर्ट गलत भएको दाबी गर्दै आफ्नो समूहसँग सम्बन्धित सबै खाले सूचना र प्रमाण दिन तयार रहेको बताए ।



