प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश ३ बाट शुरु हुँदै |
हेटौँडा । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश नम्बर ३ बाट शुरू गर्ने भएको छ । चालू आवको नीति तथा कार्यक्रममा समावेश भएको उक्त कार्यक्रम यसै आवदेखि शुरू गर्नका लागि सरकारले रू. ३ अर्ब १० करोड बजेट विनियोजन गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी गराएको छ ।
रोजगारीको हकमा सरकारले कुनै पनि नेपालीले बाध्यात्मक स्थितिबाहेक रोजगारीका लागि विदेश जानु नपर्ने गरी कार्यक्रमहरूको तयारी भइरहेको मन्त्रालयका सचिव महेश दाहालले बताए ।
मन्त्रालयका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू भएलगत्तै देशका ७ सय ५३ स्थानीय तहमा रोजगार सेवा केन्द्र खुल्नेछन् । ती केन्द्रमा करारमा एक जना कर्मचारी भर्ना प्रक्रिया पनि अगाडि बढेको सचिव दाहालले बताए । केन्द्रले बेरोजगारको तथ्यांक संकलन गर्ने, सीप र तालीम दिएर रोजगार बनाउने अवसर प्रदान गर्नेछ । सो सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढेको मन्त्रालयद्वारा हेटौंडामा आयोजित कार्यक्रममा जानकारी दिइएको छ ।
मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ दुलालले विगतमा पनि यस्ता कार्यक्रम आएको तर व्यवहारमा सफल नभएको बताउँदै यो कार्यक्रमलाई सबैले सफल पार्न जोड दिनुपर्ने बताए । उक्त कार्यक्रमका बारेमा मन्त्रालयले प्रदेश र स्थानीय तहका प्रतिनिधिसँग समेत छलफल गरेको छ ।



