दगुर्ने पानीमा सात हजार लिटर अवैध मदिरा नष्ट | बानेश्वका विभिन्न भट्टी पसलबाट पनि अवैध मदिरा बरामद
काठमाडौं । प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका–४, दगुर्नेपानीमा घर तथा टहरा भाडामा लिई विक्री वितरण गर्ने उद्देश्यले उत्पादन गरेको ७ हजार १ सय ३० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । महानगरीय प्रहरी कार्यालय रानी पोखरीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहका अनुसार सोही वडाका वडाध्यक्ष र स्थानीय बसिन्दा तथा सञ्चारकर्मीहरूको रोहवरमा उक्त अवैध मदिरा नष्ट गरिएको हो ।
महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले रसुवा स्याप्रुवेशी घर भएकी लाक्पा शेर्पाले अवैध मदिरा उत्पादन तथा विक्री वितरण गरिरहेको भन्ने विशेष सूचनाका आधारमा हिजो बुधवार अपरान्ह साढे ३ बजे चेकजाँच गर्ने क्रममा ११ सय ३० लिटर तयारी मदिरा र ६ हजार लिटर घरेलु मदिरा उत्पादन गर्न प्रयोग गरिने कच्चा पदार्थ बरामद गरेको हो ।
साथै, महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले बुधवार बेलुका ७ बजे विभिन्न स्थानमा रहेका भट्टी पसलहरू चेकजाँज गर्ने क्रममा ७ सय अवैध घरेलु मदिरा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ । दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता सिंहले जानकारी दिएकी छिन् ।



