‘आईएमई पे’ वालेटमा कुमारी बैंक आवद्ध |
काठमाडौं । ‘आईएमई पे’ वालेटमा कुमारी बैंक आवद्ध भएको छ । उक्त आवघतासँगै अब आईएमई पेका सेवाग्राहीहरूले कुमारी बैंक लिमिटेडको खातामा लिंक गरी ‘आईएमई पे’ वालेटमा सिधै रकमान्तर गर्न सक्ने भएका छन् ।
बैंकले सेवाग्राहीहरूलाई आईएमई पे वालेटमा बैंक खाता लिंक गर्नेलगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्नेजस्ता सेवाहरू उपलब्ध गराउनेछ । साथै, बैंकका सेवाग्राहीहरूले ‘आईएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्युआरमार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्ने आईएमई पेले जानकारी दिएको छ ।
आईएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आईएमई डिजिटल’ र कुमारी बैंकबीच ‘आईएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने काम शुरू भएको छ । कुमारी बैंक ‘आईएमई डिजिटल’ को बैंकिङ साझेदार संस्था हो ।



