भारतीय हास्यकलाकार कादर खानको निधन |
काठमाडौं । भारतीय सिने जगतका हस्ती कादर खानको ८१ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो १६÷१७ सातादेखि श्वासप्रश्वाससम्बन्धी समस्याका कारण क्यानडाको टोरान्टोस्थित अस्पतालमा भर्ना गरिएका खानको सोमबार साँझ निधन भएको हो ।
स्थानीय समयानुसार साँझ ६ बजे उनको निधन भएको छोरा सर्फराज खानले जानकारी दिए । सर्फराजका अनुसार सामान्य भेन्टिलेटरबाट ‘बीआइपीएपी’ भेन्टिलेटरमा सारिएका खान सोमबार अपरान्हदेखि ‘कोमा’मा गएका थिए ।
सर्फराजले आफ्ना बुवाको असहज अवस्थामा परिवारलाई साथ र सान्त्वना दिने सबैप्रति आभार प्रकट गरेका छन् । सन् १९३७ मा अफगानिस्तानमा जन्मिएका खान भारत र क्यानडा दुवै देशका नागरिक थिए। औपचारिक रुपमा इन्जिनियरिङका विद्यार्थी खानले बलिउडमा करिब ३ सय चलचित्रमा अभिनय गरेका थिए भने १ हजार भन्दा बढी चलचित्रको संवाद लेखेका थिए । सलमान खान, अक्षय कुमार र प्रियंका चोपडा अभिनित चलचित्र ‘मुझसे सादी करोगी’मा अभिनय गरेका खान त्यसपछि बलिउडको पर्दामा देखिएका थिएनन् ।
चलचित्रको पर्दामा आउनुपूर्व खान भारतको एमएच साबु सिद्धिकी क्याम्पसमा इन्जिनियरिङ विषयको प्रध्यापनसमेत गर्दथे । अध्यापनकै क्रममा खानलाई एक नाटकमा खेल्ने अवसर मिल्यो । अन्ततः सोही नाटकनै अभिनय क्षेत्रका लागि उनको पहिलो खुड्किलो बन्यो ।
सो नाटक हेर्न भारतीय सिने जगतका प्रख्यात हस्ती दिलिप कुमार पुगेका थिए । खानको अभिनय क्षमताबाट प्रभावित भएका कुमारले उनलाई सोही नाटकपछि आफ्नो भावी सिनेमामा खेल्न प्रस्ताव गरेका थिए ।
यसरी सन् १९७३ मा उनी पहिलो पटक भारतीय सिनेमा ‘दाग’मार्फत बलिउडमा प्रवेश गरेका थिए । उनी अभिनेताका अलावा पटकथा लेखक, संवाद लेखक र निर्देशक पनि रहिसकेका छन् ।
Visited 1 times, 1 visit(s) today


