अतिफ अस्लमको ‘लाइभ इन नेपाल’ कन्सर्टको डिजिटल टिकेटिङ्ग पार्टनरमा खल्ती
काठमाडौं। डिजिटल भुक्तानी सेवा प्रदायक खल्ती बाइ आइएमई पाकिस्तानी चर्चित गायक अतिफ अस्लमको बहुप्रतीक्षित कन्सर्ट ‘अतिफ अस्लम लाइभ इन नेपाल’ को डिजिटल टिकटिङ साझेदार बनेको छ।
जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा आगामी डिसेम्बर १९, २०२६ मा इटहरीस्थित इटहरी रंगशालामा उक्त कन्सर्ट आयोजना हुने भएको हो। कन्सर्टमा गायक अतिफ अस्लमले आफ्ना चर्चित गीतमार्फत नेपाली दर्शकमाझ प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछन्।
दक्षिण एसियाली संगीत क्षेत्रमा छुट्टै पहिचान बनाएका अतिफ अस्लमका ‘ताजदार–ए–हरम’, ‘तेरे बिन’ र ‘दिल दियाँ गल्लाँ’ लगायतका गीत विश्वभर लोकप्रिय छन्। उनको प्रस्तुति हेर्न नेपालसहित भारत तथा अन्य दक्षिण एसियाली मुलुकबाट समेत ठूलो संख्यामा दर्शक सहभागी हुने अपेक्षा गरिएको छ।
कन्सर्टको डिजिटल टिकटिङ साझेदारका रूपमा आबद्ध खल्तीले दर्शकलाई टिकट खरिद प्रक्रिया सहज, सुरक्षित र सुविधाजनक बनाउने जनाएको छ। यस सहकार्यमार्फत दर्शकले खल्तीको डिजिटल प्लेटफर्म प्रयोग गरी अनलाइनबाटै कन्सर्टको टिकट खरिद गर्न सक्नेछन्।
यस सहकार्यबारे खल्तीका प्रमुख सञ्चालन अधिकृत पुष्पराज न्यौपानेले लोकप्रिय अन्तर्राष्ट्रिय कलाकारको कन्सर्टसँग डिजिटल टिकटिङ साझेदारका रूपमा जोडिन पाउँदा उत्साहित भएको बताउनुभयो।
उहाँका अनुसार नेपालमा संगीत तथा मनोरञ्जनसम्बन्धी कार्यक्रमप्रति दर्शकको आकर्षण बढ्दै गएको छ। यस्तो अवस्थामा डिजिटल माध्यमबाट टिकट खरिद गर्ने सुविधा उपलब्ध गराउँदा दर्शकलाई सहज अनुभव प्रदान गर्नुका साथै टिकटिङ प्रक्रियामा पारदर्शिता कायम गर्न सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ।
खल्ती बाइ आइएमईले डिजिटल भुक्तानी सेवालाई दैनिक जीवनका विभिन्न आवश्यकता तथा गतिविधिसँग जोड्दै मनोरञ्जन, पर्यटन, यात्रा लगायतका क्षेत्रमा आफ्नो सेवा विस्तार गर्दै आएको छ।
अतिफ अस्लमको ‘लाइभ इन नेपाल’ कन्सर्टसँगको सहकार्यले दर्शकलाई सहज डिजिटल टिकटिङ सुविधा उपलब्ध गराउनुका साथै नेपालको मनोरञ्जन क्षेत्रमा डिजिटल सेवाको प्रयोग र विस्तारलाई थप प्रोत्साहन गर्ने कम्पनीको अपेक्षा छ।




