आईएमई जनरलको ४३ करोड २० लाखको हकप्रद शेयर खुल्यो |
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले पुस १७ गतेदेखि चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । बीमा समितिले निर्जीबन बीमा कम्पनीहरुलाई तोकेको न्यूनतम चुक्ता पूँजी एक अर्ब रुपैयाँ कायम गर्न कम्पनीले सो हकप्रद निष्काशन गरेको हो ।
इन्स्योरेन्सको हाल ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । उसले यहि चुक्ता पूँजीको ८० प्रतिशतले हुन आउने ४३ करोड २० लाख रुपैयाँ बराबरका ४३ लाख २० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।
हकप्रद निष्काशन पश्चात यस कम्पनीको ९७ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले ग्लोबल आइएमई क्यापिटललाई हकप्रद निष्काशन तथा विक्री प्रबन्धक चयन गरिसकेको छ । इन्स्योरेन्सले मंसिर ७ गते हकप्रद निष्काशनका लागि बुकक्लोज गरेकाले मंसिर ६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद किन्न पाउनेछन् ।
शेयरधनीहरुले धितोपत्र बोर्डबाट सी आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरबाट समेत हकप्रदका लागि आवेदन पेश गर्न सक्नेछन् ।
हकप्रदमा आवेदन दिने अन्तिम दिन माघ २१ गते रहेको विक्री प्रबन्धकले जनाएको छ । आईएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य दोस्रो बजारमा प्रतिकित्ता ४८८ रूपैयाँ रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ६१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा छ ।
Visited 1 times, 1 visit(s) today


