बंगलादेशको प्रधानमन्त्रीमा शेख हसिनाको ‘ह्याट्रिक’ |

काठमाडौं । बंगलादेशमा भएको आमनिर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टीले लगातार तेस्रो पटक जित हासिल गरेको छ । हसिना सन् २००९ देखि लगातार बंगलादेशको नेतृत्वमा छिन् । बंगलादेशको निर्वाचन आयोगले सोमबार प्रधानमन्त्री हसिनाले लगातार तेस्रो पटक चुनाव जितेको पुष्टि गरेको हो ।
हसिनाको पार्टी अवामी लिगले संसदको कुल ३ सय स्थानमध्ये २ सय ८१ स्थानमा जित हात पारेको छ । जितसँगै हसिनालाई चौथो पटक प्रधानमन्त्री बन्न बाटो खुलेको छ ।
जितको कारण प्रधानमन्त्री हसिनाको कार्यकालमा बंगलादेशको आर्थिक विकासमा अभूतपूर्व प्रगति भएको बंगलादेशका सत्तापक्षीय नेताहरुले बताएका छन्। । प्रधानमन्त्री हसिनाले छिमेकी मुलुक म्यानमारबाट लखेटिएका लाखौं रोहिङ्ग्या अल्पसंख्यक मुस्लिम समुदायलाई आश्रय दिएकोले पनि उनीप्रति विश्वास बढेको दाबी गरिएको छ ।
तर, कतिपय आलोचकहरुले भने प्रधानमन्त्री हसिनाले विपक्षीमाथि निर्मम दमन गरेको आरोप लगाएका छन्। उता पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाले नेतृत्व गरेको प्रमुख विपक्षी दल बंगलादेश नेस्नलिस्ट पार्टी (बिएनपी) गठबन्धन ७ स्थानमा मात्रै विजयी भएको छ । विपक्षी गठबन्धनको नेतृत्व ८१ वर्षीय वकिल कमाल हुसैनले गरेका थिए । बंगलादेशको संविधान बनाउन महत्वपूर्ण योगदान दिएका हुसैन चुनावी मैदानमा भने उत्रिएका थिएनन् ।
बिएनपी प्रमुख जिया भने भ्रष्टाचारको आरोपमा १७ वर्षको जेल जीवनमा रहेकोले पनि विपक्षीको अवस्था कमजोर भएको बताइएको छ । उता बिएनपी गठबन्धनले आइतबार भएको आमनिर्वाचनको निन्दा गर्दै यसलाई ‘हास्यास्पद’ भनेको छ । गठबन्धनले चुनावमा ठूलो मात्रामा धाँधली भएको भन्दै पुनः निर्वाचन गराउनुपर्ने मागसमेत गरेको छ । चटगाउँस्थित एक मतदान केन्द्रमा मतदान शुरु हुनुअगावै २ वटा मतपेटिका भरिएको अवस्थामा भेटिएको बिबिसीले लेखेको छ । यसबारेमा निर्वाचन अधिकारीले केही पनि बोल्न इन्कार गरेका थिए ।