केरुङ–काठमाडौं रेलमार्गको स्थलगत निरीक्षण सम्पन्न | काठमाडौं–पोखरा रेल मार्गको स्थलगत निरीक्षणमा पनि आजै जाने
काठमाडौं । नेपाल र चीनको संयुक्त प्राविधिक टोलीले केरुङ–काठमाडौं रेलमार्गको स्थलगत निरीक्षण गरेको छ । नेपालको रेल विभागका अधिकारी र नेपाल भ्रमणमा रहेको चीनको नेशनल रेल्वे अथोरिटीका अधिकारीको संयुक्त टोलीले केरुङ–काठमाडौं रेलमार्गको स्थलगत निरीक्षण गरेको हो ।
टोलीले रसुवागढी, रसुवा, नुवाकोटका केही स्थानको भौगोलिक अवस्थाका बारेमा स्थलगत जानकारी लिएको छ । स्थलगत निरीक्षणमा रहेका विभागका प्रवक्ता अमन चित्रकारले रेलमार्ग रहने स्थानको नेपाली र चिनियाँ प्राविधिक टोलीले निरीक्षण गरेको जानकारी दिए ।
टोलीमा विभागका महानिर्देशक कलराम मिश्रलगायतका अधिकारी र चिनियाँ टोलीमा चिनियाँ नेशनल रेल्वे अथोरिटीका उपप्रशासक आन लुसङलगायतको सहभागिता रहेको थियो । संयुक्त टोलीले काठमाडौंबाट नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखांकनको अवस्थालगायत विषयमा जानकारी लिएको छ ।
यस्तै, चिनियाँ प्रतिनिधिमण्डलले आजै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग शिष्टाचार भेटवार्ता गरी रेलमार्ग निर्माणको विषयमा जानकारी गराएको छ । नेपाली र चिनियाँ टोलीले आजै काठमाडौं–पोखरा रेलमार्ग रहने स्थानको समेत स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ ।
केरुङ–काठमाडौं रेलमार्गको दूरी करीब ८० किलोमिटर हुने देखिएको छ । सो रेलमार्गको निर्माण अवधि ८ वर्षको हुने र करीब रू. ३ खर्बभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ । काठमाडौं–पोखरा रेलमार्गको विषयमा यसअघि नै चिनियाँ कम्पनीले सम्भाव्यता अध्ययन गरिसकेको छ । सो रेलमार्गको लम्बाइ १७१ किलोमिटर हुने बताइएको छ ।
Visited 2 times, 1 visit(s) today


