साझा यातायात र बससेवाबीच अनलाइन टिकेटिङ सम्झौता, अवदेखि साझाका टिकट घरबाटै काट्न सकिने |
काठमाडौं । साझा यातायात र अनलाइनबाट बस टिकट काट्ने सुविधा प्रदान गर्दै आएको बससेवा डटकमबीच अनलाइन टिकेटिङ सम्झौता भएको छ । सम्झौतासँगै अवदेखि यात्रुहरूले साझा यातायातका टिकट अनलाइनबाटै काट्न सक्नेछन् । अनलाइन टिकेटिङ सम्बन्धि सम्झौतापत्रमा साझा यातायातका तर्फबाट कार्यकारी सञ्चालक भूषण तुलाधर र दियालो टेक्नोलोजिज प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पिआर खनालले हस्ताक्षर गरेका छन् ।
साझा यातायातले दियालो टेक्नोलोजिजले प्रवद्धन गरेको बससेवा डटकमसँगको सहकार्यमा काठमाडौ उपत्यका बाहिर सञ्चालन हुने आफ्ना सुविधा सम्पन्न डिलक्स् बसहरूमा अनलाइनबाट टिकट काट्न सकिने प्रबन्ध मिलाएको हो । हाल साझा यातायातका बसहरू काठमाडौदेखि रूपन्देहीको भैरहवा र काठमाडौदेखि बाग्लुङका लागि छुट्दै आएका छन् । भैरहवा र बाग्लुङका लागि साझा यातायातको रात्रिसेवा बुधबारदेखि शुरू भएको हो ।

सम्झौतापछि साझा यातायातका सञ्चालक तुलाधरले भने ‘लामो रूटमा जाने यात्रुहरू साझा यातायातको सेवाबारे सूचना पाउन र टिकट काट्नकै लागि काउन्टरसम्म धाउन नपरोस् भन्ने उदेश्यले हामीले अनलाइन टिकेटिङको प्रबन्ध मिलाएका छौँ र भविष्यमा यात्रुहरूको सुविधाको लागि थप सेवा विस्तार गर्नेछौँ ।’

यसैगरी दियालो टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले भने ‘साझा यातायातसँगको सहकार्यले यातायात क्षेत्रलाई डिजिटलाइज गर्ने हाम्रो अभियानमा ठुलो टेवा पुगेको छ । साझा यातायातसँगको सहकार्यले सार्वजनिक यातायातमा रहेका समस्यालाई प्रविधिको प्रयोगबाट समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास रहेको छ ।’
यात्रुहरूले अवदेखि साझा यातायात डटकम डट एनपी, बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट सहजै टिकट काट्न सक्नेछन् । इसेवा एकाउन्ट भएका यात्रुले सहजै आफ्नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेका इसेवा जोन, पोइन्ट तथा इसेवा अंकित साइबर कम्यूनिकेशनबाट टिकट बुकिङ गर्न सकिनेछ । यसैगरी यात्रुहरूले अधिकांश बैंकका मोबाईल बैंकिङ तथा इन्टरनेट बैकिङ तथा अन्य विभिन्न पेमेन्ट गेटवे मार्फत रकम भुक्तानी गरेर पनि बस टिकट काट्न सक्नेछन् ।
बससेवा डटकम नेपालको एकमात्र अनलाइन टिकटिङ गर्ने माध्यम हो । दियालो टेक्नोलोजिजले प्रवद्धन गरेको बससेवा डटकमले यातायात क्षेत्रलाई आवश्यक पर्ने अत्याधुनिक सफ्टवेयर निर्माण गरी यातायात क्षेत्रलाई डिजिटलाइज बनाउने कार्य गर्दै आएको छ ।
Visited 1 times, 1 visit(s) today


