आरती स्ट्रिप्सको फलामे डन्डी बजारमा | तीन अर्बको लगानीमा उद्योग स्थापना
काठमाडौं । भारतीय लगानीमा मोरङमा स्थापना भएको आरती स्ट्रिप्सले फलामे डन्डीको उत्पादन शुरु गरेको छ । जस्तापाता उत्पादन गरिरहेको यो उद्योगले तीन अर्ब रुपैयाँमा नयाँ डन्डी उद्योग स्थापना गरेको हो । उद्योगबाट उत्पादित डन्डीको औपचारिक विक्री वितरण शुरु भएको छ । उद्योगले आरती पर्फेक्ट र आरती टाइगर ब्राण्डमा डन्डी उत्पादन गरेको छ ।
यो उद्योगले यूरोपेली प्रविधिबाट डन्डी उत्पादन गर्छ । इटालीको एमएस ड्यानेलिईको मेशिनरी प्रयोग गरिएको र भूकम्प प्रतिरोधी डन्डी रहेको उद्योगका अध्यक्ष सञ्जीव शर्माले बताए । उद्योगले दैनिक ७ सय टन फलामे डन्डी उत्पादन गर्ने शर्माले जानकारी दिए ।
छडको उत्पादनदेखि बाइन्डिङसम्म अटोमेटिक मेसिनबाट हुने र चुम्बकीय पद्धतिको क्रेनबाट लोडअनलोड गरिने बताइएको छ । भारतको स्टिल अथोरिटी लिमिटेड, जिन्दल स्टिल वक्र्स लगायतका ठूला र ब्रान्डेड कम्पनीबाट बिलेटको आयात गरिने शर्माले बताए ।
टीएमटी छडको कारखाना विस्तार गरेर उत्पादन गर्ने योजना ७ वर्ष पूरानो रहेको र त्यही बेलादेखि प्रक्रिया शुरु गरिएको शर्माले बताए । हालसम्म प्रति दिन ५ मेगावाट विद्युत खपत गर्दै आएको आरतीलाई डन्डीको उत्पादन शुरु भएपछि १० मेगावाट चाहिनेछ ।




